वीरगन्ज । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ ।
चालु आवमा पर्साका सरकारी कार्यालयका लागि २ अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख रुपैयाँ मात्रै खर्च गरेका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढंगले पुँजीगत खर्च गर्न नसकेको बताए ।
‘चालु आव सकिन अब ३ महिनाभन्दा कम समय छ,’ उनले भने, ‘संघीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।’ उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे ।
पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड रुपैयाँ विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशत अर्थात् ६ अर्ब ८९ करोड खर्च भएको छ ।
पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा १ खर्ब ६१ करोड राजस्व संकलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने १ खर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै संघीय सरकार मातहतका कार्यालय छन् ।
प्रतिक्रिया