बागमती । आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा बागमती प्रदेश सरकारले ३२.५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ
प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८.२४ प्रतिशत र चालुतर्फ ४०.५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा पुँजीगततर्फ १० अर्ब ४९ करोड ७ लाख ११ हजार रुपैयाँ र चालुतर्फ १० अर्ब ४९ करोड ७ लाख ५५ हजार गरी २० अर्ब ९८ करोड १४ लाख ६६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले खर्च गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ । विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ६८.४३ प्रतिशत, प्रदेशसभा सचिवालयले ४३.६९ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले १६.४३ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्षको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र केही महिनाअघिबाट मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी सञ्ज्यालले बताए ।
प्रतिक्रिया