ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति


म्याग्दी । ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मंगला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ । मंगला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मंगला–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक वि.सं २०६८ मा मार्ग खुलेको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि २ करोड १७ लाख रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको छ । ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मंगला–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताए ।

उनका अनुसार ९४५ घनमिटर पलम (पक्कि) पर्खाल, १ हजार ५९६ घनमिटर ग्यावियन पर्खाल, २०० मिटर नाली र २२० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ । आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।

सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ । हाल कच्चि, साघुुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसअघि गत वर्ष हाडेभिर–पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो । यो मंगला गाउँपालिकाको गौरवको आयोजना हो ।

प्रकाशित मिति: १० वैशाख २०८२, बुधबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।