सम्झौताभन्दा ४ महिना अगावै पुल निर्माण


तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ ।

आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा ४ महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिए ।

पुल २५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको रहेको छ । पाण्डेले भने, ‘पुल निर्माण कार्य सकिएको छ, अब फिनिसिङ्को काम भइरहेकाले औपचारिक रूपमा गाडी गुड्न मिलेको छैन । मोटरसाइकल भने गुड्न थालेका छन्, अबको एक हप्ताभित्रमा गाडी पनि आवतजावत गर्न मिल्छ । कम्पनीले उच्च प्राथमिकताका साथ काम गरेकाले यो सम्भव भएको हो ।’

निर्माण कम्पनीले अब छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । उनले भने, ‘ईमान्दार भएर काम गर्ने हो भने सम्झौता अवधिभन्दा अघि पनि काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश प्रवाह भएको छ । यसबाट अन्य निर्माण व्यवसायीले पनि केही सिक्न आवश्यक छ ।’

समयअगावै गुणस्तरीय निर्माण कार्यसम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको सोअनुसार पुल निर्माण कम्पनीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ ।

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत ६ करोड ११ लाख ३२४ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पुल बनेपछि आवागमन सहज हुनाका साथै खोला किनारका करिब १०० घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारीसाधन र स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: ११ वैशाख २०८२, बिहीबार  ११ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।