९ महिनामा १३ वटा पुल निर्माण


सिरहा । चालु आर्थिक वर्षको ९ महिनामा सप्तरीमा ६ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन ७ पुलको काम अन्तिम चरणमा पुगेको छ ।

लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ ।

शम्भुनाथ नगरपालिका–११ देवधारमा ६ करोड ५७ लाख ८२ हजार रुपैयाँ, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा १ करोड ९१ लाख ९२ हजार रुपैयाँको लागतमा पुल निर्माण भएका छन् ।

यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा ४ करोड ४ लाख ५४ हजार रुपैयाँको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा ४ करोड ८५ लाख ६३ हजार रुपैयाँको खर्चेर पुल बनाइएको छ ।

छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो ५ करोड ४२ लाख २० हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो । राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा ६ करोड १३ लाख ५४ हजार रुपैयाँमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए ।

सप्तरीमा निर्माणाधीन पुलमध्ये ७ वटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल ३ करोड ७३ लाख ८२ हजार रुपैयाँको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ । यस्तै सोही निर्माण कम्पनीले ३ करोड ६२ लाख ७४ हजार रुपैयाँको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताए ।

यस्तै रुपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै ६ करोड ५३ लाख ७५ हजार रुपैयाँको लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल ९ करोड ७५ लाख ९८ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा ४ करोड ७५ लाख ३१ हजार रुपैयाँको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको छ ।

प्रकाशित मिति: १२ वैशाख २०८२, शुक्रबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।