काठमाडौँ । गभर्नर नियुक्ति हुन नसक्दा केन्द्रीय बैंक नेतृत्वविहीन बनेको छ । जसकारण राष्ट्र बैंकको ७० औं वार्षिकोत्सब कायममुकायम गभर्नर नीलम ढुंगानाको नेतृत्वमा सम्पन्न हुँदैछ ।
गत चैत २३ गते महाप्रसाद अधिकारीले अवकास लिएसँगै गभर्नर पद रिक्त छ । रिक्त पदमा गभर्नर नियुक्ति गर्न सरकारलाई सकस परिरहेको छ ।
गत चैत २४ बाट नै वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्रालयले कामु गभर्नरको जिम्मेवारी दिएको छ । जसअनुसार, ढुंगानाले अहिले कामु गभर्नरको रुपमा राष्ट्र बैंकको नेतृत्व सम्हाल्दै आइरहेकी छन् ।
आइतबार ढुंगानाले कामु गभर्नरको तर्फबाट राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश समेत जारी गरेकी छन् । ‘मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दछौँ,’ कामु गभर्नर ढुंगानाको शुभकामना सन्देशमा उल्लेख छ ।
सरकारले गत चैत ११ मा गभर्नर सिफारिस गर्नका लागि कानूनी व्यवस्था बमोजिम सिफारिस समिति समेत गठन गरेको थियो । जसमा अर्थमन्त्री विष्णु पौडेल संयोजक, अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सम्मिलित समितिले एक महिनासम्म बैठक नै बस्न नसकेपछि भट्टराईले राजीनामा दिएका छन् ।
जसअनुसार अब सरकारले फेरि एक जना सदस्य थपेर सिफारिस समितिलाई जिम्मेवारी दिने र गर्भनरको बाँकी प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ ।
तर व्यापारिक र स्वार्थ समूह हाबी हुँदा सरकार गभर्नर नियुक्ति गर्न सकिरहेको छैन । उता, प्रधानमन्त्री केपी ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिमा भएको भनिएको सहमति पश्चात पनि अन्य व्यवधानका कारण उनीहरू दवावमा छन् । त्यसकारण गभर्नर नियुक्ति प्रक्रिया अझै अन्यौलमा छ ।
प्रतिक्रिया