काठमाडौँ । नेपाली सेयर बजार जहिल्यै अस्थिरताको भुमरीमा फसिरहेको छ । स–सानो कुराले पनि सेयर बजार ह्वात्तै घट्ने र बढ्ने स्थिति छ ।
देशमा आन्दोलन चर्किरहेको छ, राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा छ । जसका कारण आगामी दिनमा बजारले कुन लय समात्छ भन्ने अन्योल कायमै छ ।
सेयर बजारमा ठुला कारोबारीले हल्लाकै कारण र साना लगानीकर्तालाई अन्योलमा राख्दै लगानी डुब्ने अवस्था सिर्जना गर्ने गरिएको आरोप पनि लाग्दै आएको छ ।
३ प्रश्नको आजको अंकमा हामीले सेयर बजारका विषयमा स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सागर ढकालसँग कुरा गरेका छौँ ।
-
सेयर बजार किन अस्थिर छ ?
लगानीकर्ता सरकारलाई विश्वास गर्ने अवस्थामा छैनन् । सरकारले एउटा गभर्नर नियुक्तिको विषयलाई पनि ठुलो बनाउने, खाली हुनुभन्दा १ महिनाअघि नै नियुक्ति गर्नुपर्ने गभर्नर अहिलेसम्म पनि नियुक्ति गरिएको छैन ।
बजार भनेको लगानीकर्ताको विश्वासको आधारमा चल्ने कुरा हो । जसले गर्दा सानो हल्ला फैलिनेबित्तिकै सेयर बजार गडबड भइहाल्छ ।
सेयर बजारलाई राजनीतिक अस्थिरताले केही असर नगर्नुपर्ने हो । तर, सरकार अस्थिर हुँदैछ रे, सरकार ढल्दै छ रे ! भन्नेबित्तिकै बजार योभन्दा पनि डाउन हुन्छ कि भनेर लगानीकर्ता त्यहाँबाट निस्किने गर्छन् । त्यसैले देशको सबै क्षेत्र अस्थिर रहेकाले बजार पनि त्यस्तै भएको हो ।
बैंकमा धेरै मात्रामा तरलता छ । तर, कोही पनि ऋण लिएर लगानी गर्न इच्छुक नै देखिँदैनन् । किनभने कुनबेला कुन नीति आउने हो, को गभर्नर भएर आउने हो भन्ने दुविधा छ ।
आज एउटा ब्याजदरमा ल्याएको पैसा भोलि नीति र नेतृत्व फेरिएर अको दर लागू हुन सक्छ । यसले लगानीकर्तामा विश्वासको कमी आइरहेको छ ।
अर्कातिर अहिले सबै क्षेत्रमा आन्दोलन छ । कहिले शिक्षकको, कहिले चिकित्सकको, कहिले राजावादीको । त्यसैले लगानीकर्ताको मनोबल गुमेको छ ।
केही ठोस कारण नहुँदा पनि लगानीकर्ताको मनोबल घटेर बजारलाई प्रभाव पारिरहेको हुन्छ
-
साना लगानीकर्तालाई प्रोत्साहन गर्न के गर्नुपर्ला ?
साना लगानीकर्तालाई सचेत बनाउन सुरुमा त सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । बजारका बारेका बुझाउनुपर्छ ।
धितोपत्र बोर्ड, सेबोन, सरकार सबैले लगानीकर्तालाई सचेत पार्नुपर्यो । लगानीकर्ताले पनि त्यसमा ध्यान दिनुपर्छ ।
अहिले पनि कति धेरै कम्पनी छन्, जसको भ्यालु एकदमै कम छ । हामीले लगानी गर्दा हुन्छ कि हुँदैन भन्ने थाहा पाउने, कम्पनीको वित्तीय विवरण हेर्ने, विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र दोस्रो बजारमा जानुपर्छ ।
दोस्रो बजार सबैका लागि होइन । दोस्रो बजारमा लगानी गर्नेले त्योसँग सम्बन्धित कुराहरू बुझ्नुपर्यो । होइन भने त प्राइमरी मार्केट छँदै छ ।
दोस्रो बजारमा गइसकेपछि थाहा थिएन भन्ने कुरा सेयर बजारको सिद्धान्तले दिँदैन ।
हामीले बजारको विकासका लागि साना लगानीकर्तालाई प्रोत्साहन गर्न खोज्दा थोरै ज्ञान भएर हुँदैन । त्यसैले साना लगानीकर्ता दोस्रो बजारमा आउँदा सिकेर मात्र आउनुपर्छ ।
कम्पनी नहेरी लगानी गर्दा ‘रिटर्न’ दिने सम्भावनै छैन, त्यस्तो सेयर सस्तो छ भनेर किन्न थाल्यौँ भने दिगो रूपमा जान सक्दैन । त्यसैले साना लगानीकर्ताले पनि मार्केट बुझेर मात्र लगानी गर्नुपर्छ ।
-
बजारको सुधारका लागि कसले के गर्नुपर्ला ?
बजार सुधारका लागि इको सिस्टमभित्रका स्टेक होल्डर (सरोकारवाला)हरूले आफ्नो कर्तव्य पालना गर्नुपर्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । अहिले हामीसँग कुनै पनि प्रडक्ट छैन । प्रडक्ट ल्याउन नेप्सेले पहल गर्नुपर्छ ।
प्राइमरी मार्केटमा टेक्नोलोजीका हिसाबले हामीले धेरै फट्को मारेका छौँ । पहिला फर्म भरेर लाइन बसेर आइपिओ भर्नुपर्ने अवस्था थियो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।
तर, सेकेन्डरी मार्केटचाहिँ पहिले फर्ममा अर्डर दिनुपर्ने थियो भने अहिले अनलाइनबाटै अर्डर दिन मिल्नेसम्म भएको छ । बाँकी सबै उस्तै छ । हामीले त्यो लेबलको विकास गर्न सकेका छैनौँ ।
एसोसियसनको हिसाबले हामीले गर्ने भनेको लाइसेन्समा जे छ, त्यो सेवा मात्र दिने हो । बाँकी विषय अन्य नियामक र सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया