काठमाडौँ । कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त हुनुअघि नेपाल विद्युत् प्राधिकरण घाटामा थियो । घिसिङले नेतृत्व सम्हालेपछि उनले व्यवस्थापकीय कुशलता देखाउँदै अर्बौं घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याए ।
तर, डेढ महिनाअघि सरकारले कुलमानलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्यो । यसअघि प्राधिकरण नाफामा रहेको कुलमानको दाबीविपरीत एकाएक घाटामा रहेको देखाइएको छ ।
कुलमानको दाबीअनुसार १३ अर्ब ६० करोड रुपैयाँ नाफामा रहेको प्राधिकरण एकाएक ५ अर्ब २६ करोड नोक्सानमा पुग्यो । प्राधिकरणले पछिल्लो समय जारी गरेको श्वेतपत्रमा यही विषय उल्लेख गरिएको छ ।
३ प्रश्नको आजको अंकमा हामीले प्राधिकरणको आर्थिक अवस्था र पछिल्लो श्वेतपत्रको विषयमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुरा गरेका छौँ ।
-
तपाईंले प्राधिकरण नाफामा छ भन्नुहुन्थ्यो । तर, श्वेतपत्रले त घाटामा देखायो नि ?
एउटा व्यक्तिले निकालेको, एउटा व्यक्तिले लेखेको कुरालाई तपाईँ कसरी सत्य मान्नुहुन्छ ? हामी नाफामा थियौँ भनेर त महालेखापरीक्षकको प्रतिवेदनले नै भनिरहेको छ । महालेखाको विवरण त झुटो हुँदैन नि !
इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको थियो भने कसरी घाटामा गयो ?
प्राधिकरणद्वारा जारी श्वेतपत्रमा कुनै सत्यता छैन । घाटामा गएको कम्पनीलाई कसले लगानी गर्छ । आज बैंक डुब्दै छ भनेपछि भोलिबाट बैंकमा भुक्तानी लिनेको लाइन हुन्छ, जसले गर्दा बैंक अझै डुब्छ । त्यसैले यो त्रास केका लागि ? यसमा त कसैलाई फाइदा छैन ।
प्राधिकरण घाटामा छ भनिदिँदा पिपिएको रेट बढाउने, महसुल बढाउने, ऋण लिने जस्ता कुराहरूले स्थान पाउँछन् । म आएपछि प्राधिकरण नाफामा पुग्यो । न हामीले पिपिएको दर बढायौँ, न महसुल ।
८ वर्षमा २५ प्रतिशत विद्युत् महसुल घटाएका छौँ । २५ अर्ब रुपैयाँ महसुल घटाएर पनि नाफामा पुर्याएको हो । यत्रो पैसा घटाएर गरेको नाफामा पनि गलत छ भन्नु त जायज होइन ।
-
घाटामा देखाइएको प्राधिकरणको अबको स्टेप के हुन सक्छ– लोडसेडिङ कि महसुल बढाउने ?
अब लोडसेडिङ भइहाल्छ वा महसुल दर बढिहाल्छ भनेर मैले भन्न मिल्दैन । तर, लोडसेडिङ हुने अवस्था थिएन र छैन । तर, व्यवस्थापन बिग्रियो भने लाइन धेरै काटिने सम्भावना हुन्छ ।
उहाँहरूको (सरकारको) चाहनाअनुसार पहिले नै म प्राधिकरणबाट निस्केको भए यस्तो अवस्था बन्ने थिएन होल । तर, पछिल्लो डेढ महिना उहाँहरूको ध्यान प्राधिकरण नाफामा नभएको डेटा कसरी दिन सकिन्छ भनेर खोतल्नेबाहेक केही काम नै गर्नुभएको छैन ।
अनि केही अरू काम नै नगरी डेटा खोतल्न मात्र किन लाग्नुभयो ? त्यही घाटा देखाउन हो । घाटा किन देखाइयो भन्दा विद्युत् महसुल बढाउन, ऋण लिन त हो !
-
प्राधिकरणको हितका लागि कसले के गर्नुपर्ला ?
प्राधिकरणको हितका लागि प्राधिकरणलाई जोखिम नहुने काम गर्नुपर्यो । मन्त्री, सचिव जस्ता उच्च पदस्थको दबाबमा परेर गलत काम नगर्ने हो भने प्राधिकरणको हित हुन्छ ।
प्राधिकरणका कर्मचारी नियुक्ति गर्दा ध्यान दिन सकियो भने पनि प्राधिकरणलाई फाइदा पुर्याउन सकिन्छ । आफ्ना पहुँचका मान्छेलाई नियुक्ति गर्दा समस्या आउने गर्छ ।
प्राधिकरण भनेको नेपालको अर्थतन्त्रको केन्द्र हो । प्राधिकरण अर्थतन्त्रको मुटु हो । मुटु बन्द भयो भने त मान्छे मर्छ । प्राधिकरणमा पनि स्वार्थ जोडिएका मान्छे भयो भने त्यसले हित गर्दैन । अहिले भए जस्तै काम हुँदै गयो भने प्राधिकरण ‘कोल्याप्स’ हुन्छ ।
प्रतिक्रिया