कानुन नमान्दा के हुन्छ ? ४५ सयको मूर्ति बेच्दा २० हजार क्षतिपूर्ति !


काठमाडौँ । सबै कानुन सबैलाई थाहा नहुन सक्छ, यो सत्य हो । अनि अर्को के पनि सत्य हो भने, कानुन थाहा थिएन वा छैन भनेर कानुनले निषेध गरेको काम गर्ने छुट भने कसैलाई हुँदैन ।

आमव्यक्तिका लागि त कानुनको परिपालना अनिवार्य हो भने अझ व्यापार व्यवसाय गर्न कानुनबमोजिम नै अनुमति लिएको व्यक्ति वा फर्मलाई त झन् बाध्यकारी नै हुन्छ ।

कहिलेकाहीँ कानुन थाहा पाएर पनि ‘के नै हुन्छ र !’ भनेर बेवास्ता गर्ने गरेका धेरै उदाहरण भेटिन्छन् । अन्जानमा हुने गल्ती केवल गल्ती हुन्छ भने जानाजान गरिने गल्ती अपराध ।

कानुन पालना नगर्दा के हुन्छ ? कानुनी दायरामा नआउँदासम्म त केही नहोला । तर, जब कानुनले आफ्नो दायरामा ल्याउँछ, तब भने अपराध गर्नेले सजाय भोग्नैपर्छ ।

यस्तै, सजायको भागिदार बनेकी छिन्, काठमाडौँ न्युरोडस्थित विशाल बजारमा स्वस्तिक सिल्भर नामक पसल सञ्चालन गरेर बसेकी ३५ वर्षीया सुनिता श्रेष्ठ ।

उनले कानुनको पालना नगरेर उपभोक्तालाई दुःख दिएकै कारण जतिको व्यापार गरेकी थिइन्, त्यसको ५ गुणा रकम क्षतिपूर्तिबापत तिर्नुपरेको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका उपभोक्ता संरक्षण ऐनसँग सम्बन्धित मुद्दा हेर्ने गरी गत २ चैतमा उपभोक्ता अदालत स्थापना गरिएको थियो ।

अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको दिन पारेर २ चैतमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गरेको सो अदालतले भोलिपल्टबाट काम सुरु गरेको थियो ।

पहिलै दिन ३ चैतमा अदालतमा ३ वटा मुद्दा दर्ता भए । सोहीमध्ये एक थियो, स्वस्तिक सिल्भरकी सञ्चालक सुनिता श्रेष्ठविरुद्धको मुद्दा ।

उनीविरुद्ध मुद्दा दर्ता गर्ने व्यक्ति हुन्– ललिपुरको गोदावरी–१३ की ५३ वर्षीया सावित्री थापा । उनले गत २५ फागुनमा स्वस्तिक सिल्भरबाट ४ हजार ५०० रुपैयाँमा चाँदीको मूर्ति किनेर लगेकी थिइन् ।

तर, घर पुगेपछि परिवारका अन्य सदस्यले मूर्ति खासै मन पराएनन् । घरका सबैले भनेपछि ७ दिन नपुग्दै उनी मूर्ति फिर्ता गर्न पसल पुगिन् ।

तर, पसल सञ्चालक श्रेष्ठले मूर्ति फिर्ता गर्न नमिल्ने बताइन् । थापाले उपभोक्त संरक्षण ऐनअनुसार ७ दिनभित्र फिर्ता गर्न पाइने प्रावधान रहेको सम्झाउँदा पनि श्रेष्ठ टसको मस भइनन् । विवाद बढ्दै जाँदा आधा रकम फिर्ता गर्न उनी तयार भइन् ।

कानुनअनुसार आफूले किनेको सामान फिर्ता गर्दा पूरा रकम नपाएको भन्दै थापाले उपभोक्ता अदालतमा मुद्दा हालिन् ।

सञ्चालक श्रेष्ठले आफूलाई मूल्य फिर्ता नदिएर शारीरिक, आर्थिक, मानसिक र भौतिक क्षति भएको भन्दै ३५ हजार ५०० रुपैयाँ क्षतिपूर्ति दाबी गरिन् ।

सो मुद्दामा अदालतले गत २५ वैशाखमा थापाको पक्षमा फैसला गर्दै स्वस्तिक सिल्भर र सञ्चालक सुनिता श्रेष्ठसँग २० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दियो ।

यस्तै, अदालतले काम सुरु गरेकै दिन काठमाडौँको बूढानीलकण्ठ बस्ने वसन्त गौतमले चाबहिलस्थित ओम हस्पिटलविरुद्ध मुद्दा दर्ता गराएका थिए ।

उनले अस्पतालको लापरबाहीले आफ्ना बुबाको मृत्यु भएको भन्दै ५ करोड क्षतिपूर्ति माग गरेर दर्ता गरेको मुद्दा अहिले प्रक्रियामा रहेको अदालतका स्रेस्तेदार शोभाकर खरेलले बताए ।

प्रकाशित मिति: २ जेठ २०८२, शुक्रबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।