बुल्दीखोलामा पुल निर्माण


काठमाडौँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठबाट बसपार्क जावतजावत बुल्दीखोलामा पुल निर्माण गरिएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले बुल्दीखोलामा एक स्पामको पुल निर्माण गरिएको बताए । पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारी र सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ ।

२०८२ भदौ ३० गते सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सम्झौता गरेको थियो । सम्झौताभन्दा अगावै २०८२ वैशाख २२ निर्माण सम्पन्न गरेको थियो । उक्त पुलको लम्बाई २५ मिटर र ८ दशमलव ४० मिटर चौडाइ छ । पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड २८ लाख ९४ हजार ६९० रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) को लागतमा निर्माण सम्पन्न गरिएको हो ।

यसमा सङ्घीय सरकारको १ करोड ३५ लाख रुपैयाँ रहेको छ भने बाँकी रकम व्यास नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गरेको छ । कामलाई निरन्तरता दिने हो भने सम्झौताभन्दा अगावै काम सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो सन्देश अन्य निर्माण व्यवसायीलाई समेत दिएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर विजय थापाले गरेको तेश्रो पक्ष मुल्याङकनमा कुनै पनि कैफियत नदेखाई मूल्याङकन पास गरेपछि निर्माण कम्पनीलाई अन्तिम किस्ता भुक्तानीका लागि प्रक्रिया अघि बढाइएको हो ।

पुल बनेपछि सवारी आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर बस्ती संरक्षणमा सहयोग पुग्ने बताइएको छ । बर्खायाममा खोलामा बाढी आउँदा कजवेबाट पानी निकासा हुन नसक्दा खोला आसपासका बस्तीमा पानी पसेर क्षति हुने गरेको थियो ।

प्रकाशित मिति: ४ जेठ २०८२, आइतबार  ०७ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।