वैशाखमा चम्कियो घरजग्गा कारोबार, सबैभन्दा बढी कहाँ ?

व्यवसायी भन्छन् : लोन भ्यालु रेसियो नबढाई सन्तोष मान्ने ठाउँ छैन


काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख महिनामा यो आर्थिक वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको छ । वैशाखमा मात्रै ५२ हजार ४२३ वटा लिखत पारित भएको छ ।

जुन गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ५.३० प्रतिशतले वृद्धि हो । गत आर्थिक वर्ष २०८०\८१ को वैशाखमा ४९ हजार ७८३ लिखत पारित भएको थियो ।
वैशाखमा भएको लिखत पारित चालु आर्थिक वर्षकै उच्च हो । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा मात्रै लिखत पारित भएको थियो ।

यस्तै, भदौमा ३२ हजार ७९८ घरजग्गाको कारोबार हुँदा असोजमा ३० हजार ५२७ वटा कारोबार भएको थियो ।

यसैगरी कात्तिकमा ३३ हजार ५१४, मंसिरमा ४३ हजार ३७९, पुसमा ४८ हजार १५६, माघमा ४६ हजार ६९, फागुनमा ४६ हजार ६१ र चैतमा ४९ हजार ८३२ वटा लिखत पास भएको थियो ।

गत आर्थिक वर्ष २०८०\८१ को वैशाखमा ४९ हजार ७८३ र आर्थिक वर्ष २०७९÷८० को वैशाखमा ४२ हजार ४६१ लिखत पारित भएको थियो ।

पूर्वी तराईको आकर्षण कायमै

पछिल्लो समय पूर्वी तराईका घरजग्गाहरूमा आकर्षण बढ्दै गएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यसपालि वैशाखमा सबैभन्दा धेरै लिखत पारित इनरुवा मालपोतबाटै भएको छ । इनरुवा मालपोतले २ हजार ३५ वटा लिखत पारित गरेको छ ।

जनकपुरले १ हजार ७६०, भद्रपुरले १७ हजार ११, बेलबारीले १ हजार ७०१, राजविराजले १ हजार ५१६, धनगढीले १ हजार ३३६ र मलंगवाले १ हजार १८३ लिखत पारित गरेका छन् ।

यस्तै, सिरहाले १ हजार १६९, तुलसीपुरले १ हजार ७७, कलैयाले १ हजार २४ र कोहलपुरले १ हजार १९ वटा लिखत पारित गरेको विभागको तथ्यांक छ ।

चैतमा पनि पूर्वी तराईका जग्गामा नै व्यासायीहरू आकर्षित बनेका थिए । चैतमा सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक बढी १ हजार ८९६ लिखत पारित भएको थियो भने झापाको भद्रपुरबाट १ हजार ८०४, बेलबारी मालपोतबाट १ हजार ७१४, जनकपुरधामबाट १ हजार ५३८ र सप्तरीको राजविराज मालपोतबाट १ हजार ४०९ लिखत पारित भएको थियो ।

त्यस्तै, सर्लाहीको मलंगवा मालपोतबाट १ हजार २४७ र सिरहा मालपोत कार्यालयबाट १ हजार १६१, कैलालीको धनगढी मालपोत कार्यालयबाट १ हजार ८५, भक्तपुरबाट १ हजार ६१ र मोरङको विराटनगर मालपोतबाट १ हजार २३ लिखत पारित भइएको थियो ।

काठमाडौँ उपत्यकामा भक्तपुर अगाडि

काठमाडौँ उपत्यकाभित्र वैशाखमा पनि भक्तपुर मालपोतले नै सर्वाधिक घरजग्गा किनबेच गराएको छ । भक्तपुरले ८८४, लगनखेलले ८६१, कलंकीले ६७२, चाबहिलले ४८४, साँखुले ४३७, मनमैजुले २६२, डिल्लीबजारले २०२ र टोखाले १७० लिखत पारित गरेको विभागले जनाएको छ ।

साढे ४ अर्ब राजस्व संकलन

घरजग्गाको लिखत पारितबापत वैशाख महिनामा कुल ४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आवको सोही अवधिको भन्दा १७.५६ प्रतिशतले बढी हो ।

गत आवको वैशाख महिनामा ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

वैशाखमा लगनखेल मालपोत कार्यालयले सबैभन्दा धेरै राजस्व संकलन गरेको पाइएको छ । वैशाखमा लगनखेलले ३८ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्दा दोस्रो स्थानमा रहेको डिल्लीबजारले ३५ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ ।

यस्तै, चाबहिलले २८ करोड ८३ लाख, कलंकीले २८ करोड र भक्तपुरले २७ करोड २९ लाख रुपैयाँ राजस्व उठाएका छन् ।

त्यसैगरी, कास्कीले १८ करोड ७९ लाख, चितवनले १३ करोड ९१ लाख, धनगढीले १२ करोड १३ लाख, विराटनगरले ११ करोड ९९ लाख, इनरुवाले ११ करोड ६५ लाख, काभ्रेले ११ करोड ३३ लाख र टोखाले १० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले सेवा कर, रजिस्ट्रेसन दस्तुर, अतिरिक्त शुल्क, डोर सुविधा, पुँजीगत लाभकर, विलम्ब शुल्क, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क, नारायणी तथा राप्ती सभ्यतालगायत शीर्षकमा राजस्व उठाउँदै आएको छ ।

घरजग्गाको कारोबार यतिले मात्रै पुग्दैन : व्यवसायी

चालु आर्थिक वर्ष लागेयता चैत र वैशाखको कारोबार पहिलाको तुलनामा अलि बढेको भए पनि यतिमा सन्तुष्ट हुने ठाउँ नरहेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बताए ।

उनले भने, ‘घरजग्गाको कारोबार यतिले मात्रै पुग्दैन । यो अझै माथि पुग्नुपर्छ । घरजग्गाको कारोबार बढ्यो भने मात्र समग्र अर्थतन्त्रको विकासमा मद्दत पुग्छ ।’
काठमाडौँ उपत्यकामा स्थानीय तहले दुःख नदिने हो भने कारोबार पनि वृद्धि हुने उनले बताए । ‘काठमाडौँ, भक्तपुर, ललितपुरमा व्यवसायीहरूलाई स्थानीय तहले नै समस्या पार्ने गरेका छन्,’ उनले भने, ‘जग्गाको कारोबार गर्न वडाबाटै समस्या छ, नगरपालिकाबाटै समस्या छ ।’

जग्गाको कारोबार बढाउन लोन भ्यालु रेसियो ७० देखि ८० प्रतिशत बनाउनुपर्ने उनले बताए ।

‘ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्ने व्यवस्था छ,’ उनले भने, ‘तर त्यो आम्दानीको ७० प्रतिशत अर्थात् २ करोड ५० लाखसम्मको घर किन्न आम्दानी खोजिरहनु हुँदैन । अनि मात्र घरजग्गाको कारोबार फस्टाउँछ ।’

प्रकाशित मिति: ४ जेठ २०८२, आइतबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।