आइपिओको पाइपलाइनबाट १४ कम्पनी ‘किक–आउट’ हुँदा मापदण्ड नपुगेका ६ कम्पनी किन जोगिए ?

अझै ५२ अर्बको आइपिओ पाइपलाइनमा


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ९० भन्दा कम नेटवर्थ रहेका १४ वटा कम्पनीलाई आइपिओको पाइपलाइनबाट हटाएको छ ।

बोर्डले कम्पनीमा प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पिपिए) कायम रहने अवधि कम रहेको १ कम्पनीलाई पाइपलाइनबाट हटाएको हो ।

सार्वजनिक लेखा समितिको निर्देशन बमोजिम ती कम्पनीहरूलाई पाइपलाइनबाट हटाएर पुनः आवेदन माग गरिएको छ ।

समितिले गत २०८० पुस १२ गते नै प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका कम्पनीलाई आइपिओ स्वीकृति नदिन बोर्डलाई निर्देशन दिएको थियो । सोहीअनुसार १४ कम्पनीलाई आइपिओको पाइपलाइनबाट हटाएको बोर्डले जनाएको छ ।

९० भन्दा कम नेटवर्थ रहेका र मापदण्ड नपुगेका १४ कम्पनीलाई मापदण्ड पूरा गरी पुनः आवेदन पेस गर्न भनिएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘ती मापदण्ड पुरा गरेर आउनु भनिएको हो,’ उनले भने, ‘ती कम्पनीहरुलाई प्रतिसेयर नेटवर्थ ९० भन्दा माथि रहेको कागजात पेस गर्न भनिएको छ। ‘

पाइपलाइनबाट हटाइएकामध्ये हाइड्रोपावरतर्फका ६ वटा कम्पनी छन् भने होटल तथा पर्यटन समूहका ४ कम्पनी उक्त सूचीबाट हटेका छन् ।
यस्तै, दुइटा फर्मास्युटिकल्सलाई पाइपलाइनबाट हटाइएको छ भने २ अन्य कम्पनीलाई सूचीबाट हटाइएको छ ।

बोर्डले हाइड्रोपावरतर्फ सानिमा हाइड्रोपावर, रिचेट जलविद्युत् कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडल कम्पनी, पुवा खोला–१ हाइड्रोपावर लिमिटेडलाई आइपिओको सूचीबाट हटाएको छ ।

यस्तै, होटलतर्फ एपेक्स हस्पिटालिटी लिमिटेड, अर्किड होल्डिङ्स, अन्नपूर्ण केबलकार, ठमेल प्लाजा होटल एन्ड सुट्सलाई सूचीबाट हटाएको छ ।
यस्तै, ९० भन्दा कम नेटवर्थ भएका एक्कर्ड फर्मास्युटिकल्स र सोपान फर्मास्युटिकल्सलाई पनि पाइपलाइनबाट हटाएको छ ।
यस्तै, बोर्डले कान्तिपुर टेलिभिजन नेटवर्क र प्रभु हेलिकोप्टर कम्पनीलाई सूचीबाट हटाएको हो ।

१४ कम्पनीमध्ये १३ वटाको वास्तविक प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम छ भने बेनी हाइड्रोपावरको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) अवधि ५ वर्ष मात्र देखिएकाले हटाइएको हो ।

उनीहरूले तोकेबमोजिम नेटवर्थ कायम गरी पुनः आवेदन पेस गर्न सक्ने प्रवक्ता घिमिरेले बताए ।

मापदण्ड नपुगे पनि किन हटेनन् ६ कम्पनी ?

९० भन्दा कम नेटवर्थ भएका १४ कम्पनी हट्दा ६ कम्पनी भने अझै बोर्डको पाइपलाइनमै छन् ।

कालिञ्चोक हाइड्रोपावर, सानिगाड हाइड्रोपावर, नेपाल ब्रोडकास्टिङ च्यानल लिमिटेड, अकामा होटल लिमिटेड, जगदम्बा स्टिल्स र टक्सार पिखुवाखोला हाइड्रोपावर भने आइपिओको पाइपलाइनमै छन् ।

यी कम्पनीहरूको प्रतिसेयर नेटवर्थ ‘रिभ्यु’कै क्रममा रहेकाले अहिले नहटाइएको प्रवक्ता घिमिरे बताउँछन् ।

बोर्डकास्टिङ च्यानल लिमिटेडको ६१.२९ रुपैयाँ, सानिगाड हाइड्रोपावरको ८५.७५ रुपैयाँ, अकामा होटल लिमिटेडको ६५.५६ रुपैयाँ, जगदम्बा स्टिल्सको ५४.०४ रुपैयाँ र टक्सार पिखुवाखोला हाइड्रोपावरको ६९.२२ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ ।

अझै ५२ अर्बको आइपिओ पाइपलाइनमा

बोर्डले प्रतिसेयर ९० भन्दा कम नेटवर्थ भएका १४ कम्पनीलाई पाइपलाइनबाट हटाए पनि धितोपत्र बोर्डको पाइपलाइमा अझै ७७ कम्पनीको ५२ अर्ब बराबरको आइपिओ पाइपलाइनमा छ ।

कुल ७७ कम्पनीले ५२ अर्ब ५३ करोड ८५ लाख १३ हजार २३२ रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारी गरेका छन् । ७७ कम्पनीले अनुमति पाएमा ३६ करोड ९२ लाख ९८ हजार ४०१ कित्ता सेयर बजारमा बिक्रीका लागि खुल्नेछ ।

पाइपलाइनमा रहेकामध्ये सबैभन्दा धेरै ३८ जलविद्युत् आयोजनाले १८ अर्ब ३९ करोड ८४ लाख १३ हजार रुपैयाँ बराबरको १७ करोड ९९ लाख ११ हजार ४८५ कित्ता सेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

त्यस्तै, उत्पादन तथा प्रशोधनतर्फका १६ कम्पनीको २४ अर्ब ६२ करोड ५४ लाख २१ हजार रुपैयाँ बराबरको ११ करोड १४ लाख ७२ हजार १३२ कित्ता सेयर पाइपलाइनमा छ ।

यस्तै, अन्य समूहका १० कम्पनीको ३ अर्ब ४२ करोड १२ लाख ५२ हजार ९०० रुपैयाँ बराबरको २ करोड ७४ लाख ९० हजार ५२९ कित्ता सेयर, होटल तथा पर्यटन क्षेत्रका ५ कम्पनीले २ अर्ब ३० करोड ७० लाख रुपैयाँ बराबरको २ करोड ५३ लाख २० हजार कित्ता आइपिओ जारी गर्न निवेदन परेको छ ।

यसैगरी, लगानी समूहअन्तर्गत ३ कम्पनीले २ अर्ब ९३ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ६५ लाख ५० हजार ३७५ कित्ता आइपिओ जारी गर्न आवेदन दिएका छन् । ३ माइक्रो इन्स्योरेन्स कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता तथा एक माइक्रोफाइनान्स कम्पनीको ८० लाख बराबरको ८० हजार कित्ता सेयर आइपिओको पाइपलाइनमा छ ।

यस्तै एक विकास बैंकको १७ करोड २३ लाख रुपैयाँ बराबरको १७ लाख २३ हजार कित्ता आइपिओ पनि पाइपलाइनमा छ ।

प्रकाशित मिति: ६ जेठ २०८२, मंगलबार  १३ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।