किन बढ्न सकेन दुर्गम क्षेत्रबाट कोषमा आबद्ध हुनेको संख्या ?


काठमाडौँ । अन्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै जाँदा दुर्गम क्षेत्रमा भने यसको  पहुँच पुग्न सकेको छैन । पछिल्लो समय सहरी क्षेत्रमा कोषको प्रभावकारीता बढ्दै जाँदा ग्रामीण क्षेत्रमा यसको प्रभावकारीता कम देखिएको हो ।

कोषमा बागमती प्रदेशबाट १३ हजार ९६२ रोजगारदाता मार्फत ४ लाख ४३ हजार ६७८ जना आवद्ध हुँदा कर्णाली प्रदेशबाट २७५ रोजगारदाता मार्फत २ हजार १८५ जना मात्र आवद्ध भएका छन् ।

यस्तै कोशी प्रदेशबाट २ हजार २०७ रोजगारदाता मार्फत ६१ ह्जार ७४६ जना आवद्ध भएका छन् । मधेश प्रदेशबाट १ हजार ९२ रोजगारदाता मार्फत २८ हजार ८१५ जना, गण्डकी प्रदेशबाट १ हजार २९ रोजगारदाता मार्फत २४ हजार ११७ जना, लुम्बिनी प्रदेशबाट १ हजार ६९२ रोजगारदाता मार्फत २० हजार ७९४ जना आवद्ध हुँदा सुदुरपश्चिम प्रदेशबाट ३०२ राजगारदाता मार्फत ३ हजार जना आवद्ध भएका छन् ।माथिको तथ्यांकले  दुर्गम क्षेत्रमा कोषको पहुँच कम पुगेको देखाएको छ ।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार रोजगारदाताहरु सहरमै बढी भएकोले कोषमा आवद्ध हुनेको संख्या पनि सहरी क्षेत्रमा बढी भएको हो । ‘रोजगारदाता प्रतिष्ठानहरु बढी भएको ठाँउबाट आवद्ध हुनेको संख्या बढी हन्छन्,’ उनले भने, ‘रोजगारदाता तथा प्रतिष्ठानहरु सहर केन्द्रित भएकोले आवद्ध हुनेको संख्या पनि सहरी क्षेत्रमा बढी भएको हो ।’

‘ग्रामीण क्षेत्रबाट स्वरोजगारका मानिसहरु बढी आवद्ध हुन्छन्,’ उनले भने ‘त्यसमा पाइलटिङ गरेर अगाडी बढ्ने काम भइरहेको छ ।’
सरकारले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समाजिक सुरक्षा कोषलाई अनिवार्य गरिने भनेकोले अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्यामा वृद्धि हुन सक्ने उनले बताए ।

यस्तै दुर्गम क्षेत्रमा सचेतनाको अभावले पनि कोषमा आवद्ध हुनेको संख्या प्रभावकारी ढंगले अघि बढेन नसकेको उनले बताए ।

कोषमा हालसम्ममा २२ लाख ४३ हजार ३६० जना आवद्ध भएका छन् । जसमध्ये सबैभन्दा धेरै वैदेशिक रोजगारबाट १६ लाख ५८ हजार २०८ जना आवद्ध भएका छन् ।

यस्तै अनौपचारिक क्षेत्रबाट ४६५ जना र स्वरोजगारबाट ३५२ जना आवद्ध भएको कोषले जनाएको छ ।

कोषमा हालसम्म ७९ अर्ब ९२ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । कोषमा सबैभन्दा बढी वृद्ध अवस्था सुरक्षा योजनामा ६५ अर्ब ३४ करोड ७५ लाख ६१ हजार ९४२ रुपैयाँ योगदान रकम संकलन भएको छ । यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परवार सुरक्षा योजनामा ५ अर्ब २ करोड ३१ लाख ७४ हजार ३३२ रुपैयाँ योगदान रकम संकलन भएको छ ।

औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा २ अर्ब २३ करोड २६ लाख १७ हजार ४७९ रुपैयाँ योगदान रकम संकलन भएको छ । यस्तै अतिरिक्त योगदान १ अर्ब ३८ करोड ९ लाख ५ हजार २६ रुपैयाँ योगदान रकम संकलन भएको छ ।

कोषमा संकलन भएको रकम मध्ये कोषले १५ अर्ब ६३ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको जनाएको छ । कोषका अनुसार वृद्ध अवस्था सुरक्षा योजनामा १२ अर्ब २५ करोड ८६ लाख ६० हजार ९९० रुपैयाँ दाबी भुक्तानी गरिएको छ । यस्तै औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब ९५ करोड ४५ लाख २८ हजार २६५ रपैयाँ दाबी भुक्तानी गरिएको छ ।

आश्रित परिवार सुरक्षा योजनामा २३ करोड ४६ लाख ४८ हजार ६४३ रुपैयाँ दाबी भुक्तानी भएको छ । यसैगरि दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा १९ करोड ७ लाख ५६२ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

प्रकाशित मिति: ७ जेठ २०८२, बुधबार  १४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।