कृषिप्रधान मुलुकको दुरावस्थाः १० महिनामा १९ अर्बको धान आयात, व्यापार घाटा साढे १२ खर्ब


काठमाडौँ । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाख) मा नेपालले झण्डैँ १९ अर्ब रुपैयाँको धान आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार १० महिनाको अवधिमा नेपालले ४९ करोड ५१ लाख ३८ हजार ६१२ केजी धान आयात गर्दा १८ अर्ब ९५ करोड ५२ लाख ४ हजार रुपैयाँ बाहिरिएको हो ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार ७२.७१ प्रतिशतले बढेको छ । १० महिनाको अवधिमा आयात र निर्यात दुबै बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालले कुल १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । यो अवधिमा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड ७२ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको वस्तु तथा सेवा आयात गरी १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको निर्यात गरेको थियो । गत आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ थियो ।

गत आर्थिक वर्षको तुलनामा नेपालको आयात १ खर्ब ७० अर्ब ७३ करोड १२ लाख ५८ हजार रुपैयाँले बढेको हो । निर्यात पनि गत आर्थिक वर्षको तुलनामा ९१ अर्ब ७३ करोड ७५ लाख ११ हजार रुपैयाँले बढेको हो । आयातको तुलनामा निर्यातको वृद्धिदर धेरै भएपनि आयातको हिस्सा धेरै हुँदा मुलुकको व्यापारघाटा पनि बढेको छ । गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा ७९ अर्ब ९ करोड ३७ लाख ४७ हजार रुपैयाँले बढेको हो ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालले सबैभन्दा बढी सोयाबिनको तेल निर्यात गरेको छ । यो अवधिमा नेपालबाट ३७ करोड ४० लाख ८६ हजार ३६८ केजी सोवयविन ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार रुपैयामाँ निर्यात भएको छ । यस्तै दोस्रो स्थानमा ४ करोड ५७ लाख ७९ हजार २९ लिटर सूर्यमुखीको बीउजन्य र कुसुमको तेल १० अर्ब ९ करोड ४९ लाख ५८ हजार रुपैयाँमा निर्यात भएको छ ।

३ लाख ९९ हजार २१९ वर्गमिटर ऊनको कपडा, कार्पेट र टेक्सटाइल ८ अर्ब ८४ करोड ७० लाख ६३ हजार रुपैयाँमा निर्यात भएको भन्सार विभागको तथ्यांकमा छ । यसैगरि ६ अर्ब ६७ करोड २२ लाख १४ हजार रुपैयाँ बराबरको ३६ लाख ८६ हजार ६९५ केजी ठुलो अलैँची निर्यात भएको छ । ४ करोड २४ लाख ७९ हजार ८०९ केजी रोल गरिएको फलाम र स्टील ४ अर्ब ७९ करोड ४२ लाख २८ हजार रुपैयाँको निर्यात भएको छ । जुटको कपडा ९ करोड ५२ लाख ९६ हजार ८०६ वर्गमिटर, ४ अर्ब ५५ करोड ५५ लाख ५५८ रुपैयाँको निर्यात हुँदा ४ अर्ब ५२ करोड ७३ लाख २१ हजार रुपैयाँको ४ करोड ९७ लाख १२ हजार ११७ लिटर एसएफएलटीआर नभएको रसको मिश्रण निर्यात भएको छ ।

धागो फाइबर आदि १ करोड ६५ लाख ४० हजार ५२३ केजी ४ अर्ब ४४ करोड १ लाख ५९ हजार रुपैयाँमा निर्यात भएको छ । १ करोड ८५ लाख १७ हजार २८६ केजी एकल धागो पोलिस्टर ४ अर्ब १८ करोड ७० लाख १७ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । १२ लाख २ हजार ४६६ केजी अन्य फेल्ट ३ अर्ब ८२ करोड २७ लाख ७७ हजार रुपैयाँको निर्यात भएको छ ।

आयातसँग निर्यातको तुलना योग्य नहुँदा व्यापार घाटा घट्न नसकेको अर्थविदहरु बताउँछन । अर्थविद डिल्लीराम खनालका अनुसार आयातको तुलनामा निर्यात नगन्य भएकाले व्यापार घाटा घट्न नसकेको बताउँछन् ।

यो १० महिनाको अवधिमा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ । साउनदेखि वैशाखसम्ममा ११ लाख ४७ हजार ६५७ किलोलिटर डिजेल १ खर्ब २ अर्ब ३८ करोड ९७ लाख ७५ हजार रुपैयामा आयात भएको छ । यस्तै ५३ करोड ९५ लाख ४९ हजार ९६० लिटर कच्चा सोयाबिन तेल ८१ अर्ब ८९ करोड ६३ लाख ८ हजार रुपैयाँको आयात भएको छ ।

नेपालले सबैभन्दा बढी आयात गर्ने अर्काे वस्तु हो पेट्रोल । यो १० महिनामा ६ लाख १२ हजार किलोलिटर पेट्रोल ५३ अर्ब ५ करोड ८७ लाख ९६ हजार रुपैयाँमा आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनामा ४५ करोड ६८ लाख ८० हजार केजी खाना पकाउने एलपी ग्याँस ५१ अर्ब ८१ करोड ९१ लख ३४ हजार रुपैयाँको आयात भएको छ ।

९२ करोड ४७ लाख ३३ हजार ७७२ केजी फलाम तथा फलामजन्य वस्तु ४१ ऋर्ब ४९ करोड ९३ लाख १९ हजार रुपैयाँको आयात भएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा नेपालले १७ लाख ८५ हजार ६५४ सेट स्मार्टफोन खरिद गर्दा २८ अर्ब ७६ करोड ८९ लाख ५८ हजार रुपयाँ विदेश पठाएको छ । ३७ करोड ७ लाख २३ हजार केजी फ्ल्याट हट रोल्ड फलाम तथा स्टील २८ अर्ब ७५ करोड ७० लाख ५२ हजार रुपैयाँको आयात भएको छ ।

१ करोड ३३ लाख २४ हजार ७६५ केजी औषधिहरु २५ अर्ब ५० करोड २४ लाख ३० हजार रुपेयाँको आयात भएको छ । यसैगरि १६ करोड ६५ लाख २७ हजार ४६१ लिटर कच्चा सुर्यमुखी तेल २४ अर्ब ६४ करोड ४ लाख ६८ हजार रुपैयाँको आयात भएको छ ।

प्रकाशित मिति: ८ जेठ २०८२, बिहीबार  १७ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।