सुन बजार

पाँच वर्षमा १ लाख रुपैयाँले बढ्यो सुनको भाउ, आयातमा गिरावट, रोजगारी गुमाउँदै कालिगढ

क्रय शक्ति नभएका कारण व्यापार धरासायी अवस्थामा


काठमाडौँ । केही वर्ष यता सुनको भाउ अचाक्ली बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा एकपछि अर्को उचाइ लिएको सुनले नेपालमा पनि नयाँ उचाइ बनाउँदै लगेको हो ।

अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु, विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनु, भूराजनीतिक द्वन्द्व नै सुनको भाउ बढ्नुको कारक तत्वहरु हुन् ।

पछिल्लो समय भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अधिकांश व्यापार साझेदारमाथि भटाभट अतिरिक्त भन्सार महसुल लगाइरहँदा सुनको भाउमा आकर्षण बढिरहेकोले भाउमा वृद्धि भएको विश्लेषकहरु बताउँछन् ।

विश्वका केन्द्रीय बैंक र ठूला लगानीकर्ताले समेत सुनमा लगानी बढाएकाले सुनको भाउ बढ्दो क्रममा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएका छन्,’ उनले भने,‘अन्तराष्ट्रिय बजारमा जति माग बढ्दै गयो भाउ पनि त्यति नै बढ्दै जान्छ ।’

सुनको मूल्य ५ वर्षमा एक लाख रुपैयाँले बढ्यो

नेपाद सुन चाँदी व्यवसायी महासंघका अनुसार पाँच वर्षमा सुनको भाउ झण्डै १ लाख रुपैयाँले बढेको छ । २०७८ जेठ ९ गते तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २०८२ साल जेठ ९ गते १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन ९७ हजार ९०० रुपैयाँले बढी हो ।

२०७८ मा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ २०७७ को जेठमा ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, २०७८ मा २०७७ को तुलनामा ६ हजार रुपैयाँले बढेर सुनको मूल्य ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । २०७९ मा सुनको मूल्य २०७८ को तुलनामा २०७९ मा ५००० रुपैयाँले बढेर ९८ हजारको हाराहारीमा रुपैयाँ पुगेको थियो ।

२०७९ मा ५००० रुपैयाँले बढेको सुनको भाउ २०८० देखि ह्वातै बढ्न सुरु भएको हो । २०८० सालको जेठमा सुनको मूल्य १ लाख १० हजार रुपैयाँको हाराहारीमा पुग्यो । जुन २०७९ को तुलनामा १२ हजार रुपैयाँले बढी हो ।

यस्तै २०८० को तुलनामा २०८१ मा सुनको भाउ ३० हजार रुपैयाँले बढ्यो । २०८१ को जेठमा सुनको मूल्य १ लाख ४० हजारको हाराहारीमा कारोबार भएको थियो ।

२०८० को तुलनामा २०८१ मा सुनको भाउ प्रतितोला ५१ हजार रुपैयाँले बढेर सुनको भाउ अहिले १ हजार ९१ हजारको हाराहारीमा पुगेको छ ।

कुन वर्ष कति भित्रियो सुन ?

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ बैशाखसम्म १३ हजार ३१० किलो सुन भित्रिएको छ ।

५ वर्षमा १ खर्ब २६ अर्ब १ करोड ९३ लाख ३ हजार रुपैयाँ बराबरको सुन आयात हुँदा सरकारले १५ अर्ब ७६ करोड ४४ लाख ११ हजार राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७७\७८ मा ३ हजार ९२४ किलो सुन आयात भएको छ । कूल २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको ३ हजार ९२४ किलो सुन भित्रिएको हो ।

उक्त परिमाणको सुन आयातबाट सरकारले ३ अर्ब ३३ करोड ५८ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८\७९ मा ५ हजार ५३ किलो सुन आयात भएको छ । ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार रुपैयाँ बराबरको ५ हजार ५३ किलो सुन आयात भएको हो । आर्थिक वर्ष २०७८\७९मा भएको सुन आयातबाट सरकारले ४ अर्ब २९ करोड ५० लाख ५६ हजार राजश्व संकलन गरेको थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७९\८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँमा २ हजार ९१६ किलो सुन आयात गरेको छ । सरकारले उक्त सुनबाट २ अर्ब ५३ करोड ८३ लाख ५८ हजार राजश्व संकलन गरेको देखिन्छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०\८१ मा २ हजार ६५१ किलो सुन आयात भएको छ । उक्त सुनको मूल्य २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ रहेको छ । उक्त परिमाणको सुन आयात हुँदा सरकारले ३ अर्ब ६४ करोड ८३ लाख ७ हजार राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८१\८२ को बैशाख महिनासम्ममा १ हजार ३८९ किलो सुन १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँमा आयात भएको छ । उक्त परिमाणको सुनबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

सुन आयात घट्दा समस्यामा कालिगढ

सुनको भाउ महगिदै गर्दा नेपालमा भएका कालिगढले काम पाउन छाडेका छन् । भाउ महगिदा नक्कली गहना बाहिरी देशबाट नै आयात गरिने भएकोले यहाँका कालिगढले रोजगारी नै गुमाउनु पर्ने अवस्था छ ।

मानिसहरुको क्रय शक्ति नभएका कारण अहिले सुनको व्यापार धरासायी अवस्थामा पुगेको नेपाल महासंघका पूर्व अध्यक्ष तथा व्यवसायी शाक्य बताउँछन् ।

‘सुनको भाउ बढ्दा अप्रत्यक्ष रुपमा धेरै जनाले रोजगारी पनि गुमाएका छन्,’ उनले भने,‘सरकारले कुन निति अपनायो भने व्यवसाय अलिकति फस्टाउँछ भन्ने चासो दिनुपर्छ ।’

 

प्रकाशित मिति: ९ जेठ २०८२, शुक्रबार  ०९ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।