हरेक वर्ष असार महिनामा बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा औषतभन्दा बढी हुने गरेकोमा चालु आर्थिक वर्षको अन्त्यमा भने उल्टो अवस्था देखिएको छ । असारमा आर्थिक वर्षको समाप्तिको बेला विकास निर्माणका काम तिब्र बन्दा बैंकबाट कर्जा पनि धेरै जाने गरेको विगतको तथ्यांकले देखाउँछ ।
यस पटक भने बैंकमा निक्षेप जम्माको आकार वृद्धिको तुलनामा कर्जा परिचालन ज्यादै न्युन भएपछि बैंक वित्तीय संस्थाहरु अलमलमा परेका छन् । आर्थिक कृयापकलाप सुस्त भइरहेको भन्ने भाष्य स्थापित हुँदै गर्दा बैंक वित्तीय संस्थाबाट परिचालन हुने कर्जामा सुस्तता आएको हो ।
राष्ट्र बैंकका अनुसार असार १५ गतेदेखि १६ गतेसम्म एक दिनको अवधिमा बैंक वित्तीय संस्थामा १० अर्ब रुपैयाँले निक्षेप थपिएको छ । त्यसैगरी १ दिनको अवधिमा कर्जा भने २ अर्ब रुपैयाँले मात्र बढेको छ । तुलनात्मक रुपमा कर्जाभन्दा निक्षेप फराकिलो अन्तरले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार असार १५ गतेको तुलनामा असार १६ गते बैंक तथा वित्तिय सस्थाहरुको कुल निक्षेप ७० खर्ब ७१ अर्ब रहेकोमा ११ अर्बको वृद्धि सहित ७० खर्ब ८२ अर्ब पुगेको हो ।
यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप ६३ खर्ब ३० अर्ब रुपैयाँ रहेकोमा १० अर्ब रुपैयाँले बढेर ६३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । अन्य वित्तिय संस्थाहरुको कुल निक्षेप ७ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा १ अर्बले बढेर ७ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ ।
१ दिनको निक्षेपमा ११ अर्बको वृद्धि देखिँदा कर्जा भने २ अर्ब रुपैयाँले मात्र बढेको तथ्यांकले देखाउँछ । असार १५ मा बैंक वित्तीय संस्थाले परिचालन गरेको कुल कर्जा ५५ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा १ दिनमा २ अर्बको वृद्धि पश्चात कुल कर्जाको आकार ५५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरुको कर्जा परिचालन असार १५ मा ४९ खर्ब ६० अर्ब रहेकोमा १६ गते २ अर्बले बढेर ४९ खर्ब ६२ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । अन्य वित्तीय संस्थाको कर्जा भने बढ्न सकेको छैन ।
कर्जा परिचालनको वृद्धि न्युन भएको बेला निक्षेपको वृद्धि उच्च हुँदा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको औषत पनि १ दिनमा नै ०.९ ले घटेको छ । असार १५ मा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.८२ प्रतिशत रहेकोमा १६ गते ७७.७३ प्रतिशतमा झरेको हो । यसले बैंकहरुको तरलतामा सुधार आएको संकेत गरेको छ । यद्यपी बैंकहरुको व्यवसाय बिस्तार प्रभावित हुँदा बैंक वित्तीय संस्थाहरु दवाबको अवस्थामा पुगेका छन् ।
बैंकहरु बिचको अन्तरबैंक ब्याजदर भने स्थिर रहेको छ । अघिल्लो दिन ३ प्रतिशत रहेको औसत अन्तरबैंक ब्याजदर स्थिर ३ प्रतिशत नै रहेको छ ।
२ साताको अवधिलाई हेर्दा पनि वाणिज्य बैंकहरुबाट परिचालन हुने कर्जाको अवस्था उत्साहजनक देखिँदैन । उता निक्षेपमा भएको सुधार भने कर्जाभन्दा फराकिलो अन्तरमा धेरै छ ।
गत जेठ ३१ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ६२ खर्ब ५२ अर्ब रुपैयाँ थियो । जेठ १६ गतेसम्ममा आउँदा वाणिज्य बैंकहरुको कुल निक्षेपमा ८८ अर्ब रुपैयाँको वृद्धि भएको देखिन्छ । १६ दिनमा वाणज्य बैंकहरुको निक्षेप ८८ अर्बले बढ्दा कर्जा परिचालन भने १५ अर्ब रुपैयाँले मात्र बढेको हो । गत जेठ ३१ गतेसम्ममा वाणिज्य बैंकहरुले कुल ४९ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका थिए ।
कोरोना महामारीका बेला आर्थिक वर्ष २०७८।०७९ को असारमा पनि बैंक वित्तीय संस्थाबाट परिचालन हुने कर्जाको वृद्धि फराकिलो अन्तरले घटेको थियो । सो पश्चात चालु आर्थिक वर्षमा कर्जाको वृद्धि उत्साहजनक नदेखिएको बैंकरहरु बताउँछन् ।
नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको असार मसान्तदेखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वाणिज्य बैंकहरुको जिक्षेप तथा कर्जा वृद्धिको अवस्था यस्तो छ । तालिकामा चालु आर्थिक वर्षको जेठ महिनाको साप्ताहिक उतारचढाव पनि देखाइएको छ ।
त्यसैगरी संघका अनुसार पछिल्लो ५ आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेपमा भएको सुधारको तथ्यांकलाई यसरी हेर्न सकिन्छ । जहाँ हरेक आर्थिक वर्षको पहिलो महिनामा न्युनदरमा रहेको निक्षेपको वृद्धि आर्थिक वर्षको अन्तिम अर्थात असारमा पुग्दा बढेर माथि पुगेको देख्न सकिन्छ ।
संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको पछिल्लो ५ आर्थिक वर्षको कर्जा परिचालनको अवस्था यस्तो छ । जहाँ कोरोनाकालमा मात्र असार महिनामा कर्जाको वृद्धि घटेको देखिन्छ भने चालु आर्थिक वर्षको जेठ महिनासम्म कर्जाको वृद्धि औषत ट्रेण्ड अनुसार माथि गएको देखिन्छ । असारमा मात्र यो ट्रेण्ड घट्दो अवस्थामा देखिने सम्भावना बढेको हो ।
असारको २ साता बितिसकेको र विकासका कामहरु विगतमा जसरी नभएको अवस्थामा असारमा कर्जा परिचालनमा सुधार हुने अपेक्षा बैंकहरुले गरेका छैनन् । कर्जा असुलीलाई तिब्रता दिएका बैंकहरुले नयाँ कर्जा परिचालन हुन नसक्दा तरलता बढेसँगै बैंकको व्यवसाय प्रभावित हुने चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया