प्रेमलाल महर्जनलाई ३ प्रश्न

‘सरकारले सिलिण्डर, रेगुलेटर लगायतको गुणस्तर अनुगमन गर्दैन, उपभोक्ता आफैँ चनाखो हुनुपर्छ’


पछिल्ला दिनहरुमा खाना पकाउने ग्यास सिलिण्डर विस्पोटका घटना दिनानुदिन बढ्दो क्रममा छ । २ दशक अघिसम्म ग्यासमा खाना पकाउनेहरुको संख्या अहिलेको जस्तो धेरै थिएन । ग्यासको चलनचल्ती सुरु भएको पनि धेरै समय भएको थिएन । बजारमा आएका ग्यास पनि आयु पुरा हुन वर्षै बाँकी रहेका थिए । अहिले ग्यासका प्रयोगकर्ताको संख्या अधिक हुँदै गर्दा आयु पुरा भएका ग्यास पनि बजारमा उत्तिकै छन् । यस्तो अवस्थामा के ग्यासको प्रयोग असुरक्षित हो त ? कस्तो अवस्थामा यो पड्कन्छ ? भन्ने चासो जनमानसमा उठ्न थालेको छ ।

ग्यास सिलिन्डर धेरै मात्रामा विस्फोट हुन थालेपछि उद्योगी र सरकारबीच २०७० सालमा सचेतना बढाउने सम्झौता पनि भएको थियो । तर, आजसम्म पनि सम्झौता अनुरुप काम हुन सकेको छैन । यसको सचेतना नहुँदा प्रायेगकर्ता ग्यासको विकल्प खोज्न थालेका छन् ।

३ प्रश्नको आजको अंकमा हामीले ग्यासको प्र्रयोगबारे उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनसँग कुरा गरेका छौँ ।

ग्यास विस्फोटका घटना बढ्का कारण के हुन् ?

ग्यास विस्फोट हुनुका मुख्य २ वटा कारण छन् । उपभोक्ताहरुको मानवीय त्रुटि र व्यवसायीको लापरबाही ।

उद्योगी व्यवसायीहरुले नै लापबाही ढंगले ग्यास उत्पादन तथा गरी बिक्री वितरण गरिरहेका छन् । उपभोक्ताहरुले पनि ग्यास सिलिडर प्रयोग गर्दा, सिलिण्डर बदल्दा ध्यान दिँदैनन् । कतिपयले स्कुटरमा ग्यास तेर्साएर ल्याउँछन् । त्यसरी ल्याउँदा लिकेज भएको सिलिन्डर पर्यो भने ग्यास छछल्किन्छ र विस्फोटको सम्भावना बढाउँछ ।

हामीले खाना पकाउन प्रयोग गर्ने ग्यास भनेको लिक्विडीफाइड पेट्रोलियम ग्यास (एलपीजी) हो, यसमा लिक्विड हुन्छ भन्ने कुरा उपभोक्ताले बुझ्न आवश्यक छ । र सिलिण्डरको अवस्था के हो भन्ने पनि उपभोक्ताले बुझ्न पर्छ । यसको आयु, बनावट लगायतमा उपभोक्ताले खासै ध्यान दिने गरेका छैनन् ।

ग्यास विस्पोट हुनुमा मानवीय त्रुटीले ९० प्रतिशत जोखिम नित्याउँछ भने १० प्रतिशत व्यवसायीहरुले गर्दा जोखिम हुन्छ ।

ग्यास जडान गर्दा ध्यान दिनु पर्ने कुराहरु के के हुन् ?

ग्यास विस्फोट हुन नदिन सुरुमा सिल टुटेको छ कि छैन हेर्ने । सिल टुटेको छैन सिल ठिक छ भने भल्भको खाल्टोमा अलिकती पानी राखेर हेर्ने । पानी राख्दा पानीको फोका आउन थाल्यो भने त्यो ग्यास लिकेज भएको छ भनेर बुझ्नु पर्छ । त्यस्तो ग्यास प्रयोग गर्न मिल्दैन ।

यदि ग्यासबाट पानीको फोका जस्तो आएन भने जडान गर्दा रेगुलेटर हाल्दा रेगुलेटरमा आइ एस र एमएस मार्क छ कि छैन हेर्नुपर्छ । रेगुलेटरमा आइएस र एमएस छ भने त्यसपछि भल्भमा रेगुलेटर राख्दा थोरै मात्र आवाज आउनु पर्छ । यदि रेगुलेटर राख्दा आवाज आएन भने त्यो रेगुलेटर बिग्रेको छ भनेर बुझ्नु पर्छ ।

अर्को ध्यान दिनुपर्ने कुरा भनेको पाइप हो । सामान्य पोलिथीनका पाइपहरु राखेर जडान गर्नु हुँदैन । त्यसको लागि छुट्टै गूणस्तरीय पाइप किन्नु पर्छ । पाइप जोडेपछि पनि पाइपबाट ग्यास लिकेज भएको छ वा ग्यास गन्हाएको छ भने पहिला झ्याल ढोका खोलेर मात्र ग्यास अन गर्नुपर्छ ।

ग्यास सिलिन्डर सकिए पछि त्यसलाई ओल्टाई, पल्टाई, घोप्टाई गरेर प्रयोग गरिन्छ, त्यसो गर्नु हुन्न । ग्यास घोप्याउँदा त्यसमा भएको लेदो भल्भमा आएर अड्किन्छ । जसले गर्दा ग्यास पड्किने सम्भावना हुन्छ ।

यस्तै, उपभोक्ताले कुच्चिएको ग्यास पनि किन्न मिल्दैन । ग्यासको तौल १४.२ किलो हुन्छ । त्यो भन्दा बढी भएको ग्यास पनि किन्नु हुँदैन । त्यो भन्दा बढीको ग्यास छ भने व्यापारी वा फिलरले लेदो हालेर बेचेको ग्यास हो भनेर सम्झिनु पर्छ । साथै सिलण्डरको आयुका सम्बन्धमा पनि जानकारी राखेर आफुले ल्याउन लागेको सिलिण्डरको म्याद छ छैन निश्चित गर्नुपर्छ ।

ग्यास सिलिण्डर प्रभावकारी रुपमा प्रयोग बढाउन राज्यले के गर्नुपर्ला ?

राज्यले कस्तो ग्यास ल्याउने ? कसरी उपयोग गर्ने ? ग्यास सिलिण्डरको सही उपयोग गर्न के गर्नुपर्छ ? कस्तो कुरामा ध्यान दिनुपर्छ ? भन्ने कुराहरुमा सचेतना बढाउनु पर्छ । यसका लागि नेपाल आयाल निगमले प्रभावकारी रुपमा काम गर्नुपर्छ । सरकारले सिलिण्डर, रेगुलेटर पाइप लगायतको गुणस्तरको बारेमा अनुगमन गर्दैन, गर्न पनि सक्दैन । त्यसैले उपभोत्ता आफैँ पनि चनाखो हुनुपर्छ ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  ०८ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।