स्वास्थ्य बिमाको बाँकी रकम १ वर्षभित्र भुक्तानी गरिने


काठमाडौँ । स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि  ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई  १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । उनले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताए । गत आवमा स्वास्थ्य बिमा कार्यक्रमलाई ७ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।

अर्थमन्त्री पौडेलले भने, “बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिनेछ । बीमितलाई फरकफरक योजनाको सुविधा उपलब्ध गराइनेछ । बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ ।” त्यसैगरी हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई १ वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।