२०१९ को तुलनामा १११ प्रतिशतले बढ्यो पर्यटकको संख्या, ५ महिनामा ५ लाखभन्दा बढी भित्रिए


काठमाडौँ । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो वर्ष सन् २०२४ को सोही महिनाको तुलनामा ९५ दशमलव छ प्रतिशतबढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०१९ को तुलनामा १११ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि मे महिनासम्म कूल पाँच लाख एक हजार २६४ पर्यटक नेपाल आएका हुन् । मेमा मात्रै ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् ।

यस्तै, जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा एक लाख २१ हजार ८०० र अप्रिल महिनामा एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

मे महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार एक सय ६०, अमेरिकाबाट नौ हजार ७४, चीनबाट आठ हजार ८२४, बङ्गलादेशबाट चार हजार २८०, संयुक्त अधिराज्य बेलायतबाट तीन हजार ४७३ पर्यटक नेपाल भित्रिएका छन् ।

बोर्डका अनुसार मेमा दक्षिण एसियाली मुलुकबाट ३४ हजार ३५०, एसिया र अन्य मुलुकबाट १८ हजार ६९ पर्यटक नेपाल आएका छन् । युरोपबाट १३ हजार ३३० र मध्यपूर्वी मुलुकबाट एक हजार ५१५ पर्यटक भित्रिएका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार  ०७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।