‘सीप मेलाले रोजगार, स्वरोजगारको सम्भावनाको ढोक खुलाएको छ’


काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएननडिपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाले रोजगार र स्वरोजगारको सम्भावनाको ढोका खुलाएको  बताएका छन् ।

महानगरले यही जेठ ७ गतेदेखि सुरु गरेको दोस्रो संस्करणको सीप मेलाको आज अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“मेलाले प्रशिक्षण मात्र प्रदान गरेको छैन । यसले रोजगार र स्वरोजगारको सम्भावनाको ढोका पनि खुलाएको छ ।  यो मेलाको सबल पक्ष हो”, उनले भने, “समय अनुसारका सीप र सीपयुक्त जनशक्तिले रोजगार पाउने ठाउँ, रोजगार दिने व्यक्ति एकै ठाउँमा भेटिने खालको प्रयत्न अनुकरणीय छ ।”

त्यस क्रममा महानगर सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा सुमननरसिंह राजभण्डारीले सीप र रोजगार प्रदान गर्ने विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर दिगो नतिजा प्राप्त गर्ने संयन्त्र विकास भइरहेको जानकारी पनि गराए ।

सिकाइ विस्तार आवश्यक छः पूर्वराज्यमन्त्री

पूर्वस्वास्थ्य राज्यमन्त्री डा तोषिमा कार्कीले काठमाडौँको अभ्यास अन्य स्थानीय तहले  पनि विस्तार गर्नुपर्ने बताइन् । सीप मेला अवलोकनकै क्रममा आज उनले सीप प्रदान भएपछि व्यक्तिको आय बढ्ने र यसको लाभ घरघरमा पुग्ने बताइन्। अवलोकनका क्रममा उनले प्रशिक्षक र प्रशिक्षार्थीसँग तालिमबारे जानकारी लिएकी थिइन् ।

यसैबीच, महानगरले दोस्रो संस्करणको सीप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ । मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संसाधन उपलब्ध गराएर सहकार्य गर्ने सङ्घसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबीच सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्यका लागि सम्झौता भएको मेला व्यवस्थापन समितिका संयोजक इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

यसरी सम्झौता भएका निजी सङ्घसंस्थामा एनसेल, जगदम्बा मोटर्स, नेपाल लाइफ इन्स्योरेन्स, आइएनजी गु्रप, केएल दुगड, पद्मज्योति ग्रुप, अग्नि इन्टरप्राइजेज र काठमाडौँ मोडेल कलेज रहेको झाको भनाइ छ । मेलामा १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित विभिन्न तालिम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति: २३ जेठ २०८२, शुक्रबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।