एयर इन्डिया विमान दुर्घटना अपडेट : २४१ यात्रुसहित कम्तीमा २९० को मृत्यु


काठमाडाैँ । भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको छ ।

गुजरात राज्यको अहमदाबादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै उडान भर्ने क्रममा एयर इन्डियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा कम्तिमा २९० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

एयर इन्डियाको उडान नम्बर १७१ ले ‘मे डे’ कल जारी गर्दै सङ्कटको सङ्केत गरेको थियो । नागरिक उड्डयन महानिर्देशनालयले विमान स्थानीय समयअनुसार दिउँसो १ः४० बजे दुर्घटनाग्रस्त भएको जनाएको छ ।

एएफपीले तत्काल पुष्टि गर्न नसकेको सामाजिक सञ्जालमा पोस्ट गरिएका केही भिडियोमा एउटा विमानले आफ्नो अगाडीको भाग माथि उठाएर उचाई लिँदै गर्दा एक्कासी उचाइ गुमाएको र त्यो भवनमा ठोक्किनुअघि आगोको गोलामा परिणत भएको देखिएको थियो ।

विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली नागरिक रहेको एयर इन्डियाले जनाएको छ । विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए ।

करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भीडभाड युक्त आवासीय क्षेत्रमा रहेको चिकित्सक र उनीहरूका परिवारको भवनमा विमान ठोक्किएको थियो ।

अस्पताल र ‘घोडा शिविर’को बीचमा दुर्घटना भएको स्थानमा एएफपीका एक पत्रकारले शवहरू निकाल्दै गरेको र अग्निनियन्त्रकहरूले भग्नावशेष निभाउने प्रयास गरिरहेको देखेका थिए ।

नाम नबताउने शर्तमा एक स्थानीयले भने , “हामीले भवनका मानिसहरूलाई दोस्रो र तेस्रो तल्लाबाट हामफालेर आफूलाई बचाउने प्रयास गरेको हामफालेको देख्यौँ। विमानमा आगो लागेको थियो।”

“जब हामी घटनास्थलमा पुग्यौं, त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए,” अर्का स्थानीय पुनम पटनीले एएफपीसँग भने ।

कृष्ण नाम गरेका एक चिकित्सकका अनुसार “जहाजको नाक र अगाडिको पाङ्ग्रा क्यान्टिन भवनमा खसेको थियो जहाँ विद्यार्थीहरूले खाजा खाइरहेका थिए।

शहरका प्रहरी आयुक्तले एएफपीलाई बताएअनुसार विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएकाले हताहत हुनेको सङ्ख्या थप बढ्ने अपेक्षा गरिएको छ ।

भारतको उड्डयन मन्त्रालयले सबै उड्डयन र आपतकालीन प्रतिक्रिया एजेन्सीहरूलाई ‘छिटो र समन्वयात्मक कार्य गर्न’ तैनाथ गरेको छ।

अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान स्थगित गरिएको छ ।

एयरलाइन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले आपतकालीन केन्द्र सक्रिय गरिएको र जानकारी लिन चाहने परिवारका लागि सहयोगी टोली गठन गरिएको जानकारी दिए ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले घटनाबारे थप जानकारी सङ्कलनका लागि काम गरिरहेको र एयर इन्डियालाई सहयोग गर्न तयार रहेको बताएको छन् ।

बेलायत र अमेरिकाले आफ्ना भारतीय समकक्षीलाई सहयोग गर्न हवाई दुर्घटना अनुसन्धान टोली पठाउने बताएका छन् । ७८७ ड्रिमलाइनर दुर्घटनाग्रस्त भएको यो पहिलो पटक भएको घटनासँग सम्बन्धित एक स्रोतले जनाएको छ ।

एक ईन्धन–कुशल, वाइड–बडी, हल्का विमान बोइङ ७८७ ड्रिमलाइनरले ३३० व्यक्तिहरूलाई ओसारपसार गर्न सक्छ र यो लामो दूरीका विमानहरूको लागि अमेरिकी कम्पनीको एक गौरवपूर्ण उत्पादन हो ।

विमान दुर्घटनापूति दुःख व्यक्त गर्दै एयर इन्डियाको लगानीकर्ता टाटा समूहले प्रत्येक मृतकका परिवारलाई एक करोड भारु (एक लाख १७ हजार अमेरिकी डलर) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति: ३० जेठ २०८२, शुक्रबार  ०६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।