काठमाडौँ । यो साता लगानीकर्ताहरू हाइड्रोपावरतर्फ आकर्षित भए । गत साता ०.६० प्रतिशतले घटेको हाइड्रोपावरको बजार यो साता ५.५३ प्रतिशतले बढ्यो ।
पछिल्लो समय राधी विद्युत कम्पनी, सानिमा माई हाइड्रोपावर, बुटवल पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, चिलिमे हाइड्रोपावर, ङादी ग्रुप पावर, अरुण काबेली पावर जस्ता कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेका छन् । वर्षौँदेखि घटिरहेका यी हाइड्रोपावरको मूल्य एकाएक बढ्न थालेको हो ।
यो क्षेत्रमा धेरै उतारचढाव भइरहेकाले यो क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको स्कट ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । जुन क्षेत्रमा सम्भावना देख्यो, त्यही क्षेत्रमा लगानीकर्ता जाने भएकाले यो ठुलो कुरा नभएको उनको भनाइ छ ।
अध्यक्ष मैनालीले भने, ‘लगानीकर्तालाई जुन सेक्टर धेरै भोलाटाइल हुन्छ, त्यहाँ धेरै अवसरहरू आउने भएको हुँदा हाइड्रोपावरमा लगानी बढेको हो ।’
यता, चर्को घाम र समयमै वर्षा सुरु हुनाले ‘रन अफ रिभर’ मोडलका हाइड्रोपावरबाट उत्पादित बिजुली बढेकाले लगानीकर्ताको आकर्षण हाइड्रोपावरतर्फ बढेको स्वतन्त्र विद्युत उत्पादक संघ, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले बताए ।
हालको आर्थिक र मौसमी परिवेशले हाइड्रोपावर कम्पनीहरूको ब्याज लागत घटाएको लगायत सकारात्मक कारणले गर्दा यस क्षेत्रको सेयरमा लगानीकर्ताको आकर्षण रहेको उनको भनाइ छ ।
यी हुन् सबैभन्दा धेरै बढेका हाइड्रोपावर
यो साता सबैभन्दा धेरै पियोर इनर्जीको सेयर मूल्य ६०.९७ प्रतिशतले बढेको छ । जसको अन्तिम कारोबार मूल्य ८२४.७० रुपैयाँ पुगेको छ । यस्तै, यो साता बुटवल पावर कम्पनीको मूल्य २१.०१ प्रतिशतले वृद्धि भई मूल्य ७६४.८८ पुगेको छ । बुटवल पावर कम्पनीको सेयर मूल्य ४०० प्रति कित्ता आसपास देखि बढ्न सुरु भएको थियो ।
यस्तै, सिनर्जी पावरको सेयर १९.२५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४३४.६१ रुपैयाँमा कायम भएको छ । उक्त कम्पनीको सेयर ३५३.२२ बाट बढ्न सुरु गरेको हो ।
यता, रिभर फल्स पावरको सेयर १८.१४ प्रतिशतले बढेर बिहीबार ६१९.७५ रुपैयाँमा बन्द भएको छ । उक्त कम्पनीको मूल्य ४५० को आसपासबाट बढ्न थालेको हो ।
यस्तै, चिलिमे हाइड्रोपावरको सेयर १६.५६ प्रतिशतले बढेर ५६७.३७ रुपैयाँ पुगेको छ । उक्त कम्पनीको सेयर मूल्य ४५० को आसपासबाट बढ्न सुरु भएको हो ।
यसैगरी, युनियन हाइड्रोपावरको सेयर १४.७३ प्रतिशतले बढेर ३६८.०२ रुपैयाँमा कायम भएको छ । उक्त कम्पनीको सेयर मूल्य ३१४ को आसपासबाट बढ्न सुरु भएको हो ।
यस्तै, सानिमा माई हाइड्रोपावरको सेयर १२.५६ प्रतिशतले बढेर ६३५.८४ पुगेको छ । उक्त कम्पनीको सेयर ५५० रुपैयाँबाट बढ्न सुरु भएको थियो ।
लगानी गर्दा सचेत हुन आवश्यक
हाइड्रोपावरको सेयर बढेको छ भन्दैमा जुन कम्पनीमा पनि लगानी गर्दा जोखिम बढ्न सक्ने अध्यक्ष मैनालीले बताए ।
एउटा सेक्टरको सेयर बढ्यो भन्दैमा त्यो सेक्टरका सबै कम्पनी राम्रा हुन्छन् भन्ने नभएको उनको भनाइ छ । लगानी गर्दा कम्पनीको बारेमा बुझेर लगानी गर्न उनको सुझाव छ ।
कारोबार १२ अर्ब नाघ्यो
सेयर बजारमा ३ महिनापछि दैनिक कारोबार रकम १२ अर्ब नाघेको छ। नेप्से परिसूचक ओरालो लागे पनि हाइड्रोपावरमा लगानी बढ्दा कारोबार रकम भने १२ अर्ब नाघेको हो । बिहीबार एकै दिन १२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यसअघि २०८१ फागुन २० गते १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस यता पहिलो पटक बिहीबार बजारले १२ अर्ब पार गरेको हो । अघिल्लो २ दिन कारोबार रकम १० अर्ब हाराहारीमा थियो ।
प्रतिक्रिया