बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन सकेनन् : वर्षामान पुन


काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताएका  छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गरेका छन् ।

“बलियो सरकारले ल्याएको यो कमजोर बजेट हो”,सांसद पुनले भने । उनले राजस्व चुहावटको समस्या, पुँजीगत खर्च र प्राथमिकताका क्षेत्रलाई समेट्न बजेटले नसकेको बताए। वित्तिय सङ्घीयतालाई बलियो बनाउन बजेट चुकेको उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आमजनताको अपेक्षा सम्बोधन गर्न बजेट असमर्थ भएको बताए ।  उनले ठूला उद्यमी– व्यवसायी खुसी बनाउने गरी बजेट आएको भन्दै असन्तुष्टि जनाए ।

आम जनता पार्टीका सांसद प्रभु साहले बजेट बिचौलियालाई खुसी पार्ने गरी आएको आरोप लगाए । नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरीले आगामी आर्थिक वर्षको बजेटले नागरिकको आवश्यकता समेट्न सफल भएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरे । उनले कृषि उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि विशेष ध्यान दिन आग्रह गरे ।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले बजेट मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले बजेटमा युवालाई केन्द्रमा राखी नवप्रवर्तनसहितका उद्योग, सहुलियतपूर्ण कर्जा, कृषिको आधुनिकीकरण समेटिएका बताए ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार  १७ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।