जेठमा राेजगारी खोज्दै बिदेसिए ७४ हजार नेपाली, सबैभन्दा बढी धनुषाका, पहिलो रोजाइ युएई


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्र ७४ हजार नेपाली नागरिक रोजगारीको खोजीमा बिदेसिएका छन् ।

जेठ महिनामा ६६ हजार ३०२ जना पुरुष ८ हजार १६५ जना महिला गरी जम्मा ७४ हजार ४६७ जना नेपाली रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सोमध्ये सबैभन्दा बढी युनाइटेड अरब इमिरेट्स (युएई) जानेहरू छन् । जेठमा २४ हजार ७०४ जना युएई गएको विभागले जनाएको छ । जसमध्ये २२ हजार ६६ जना पुरुष र २ हजार ६३८ जना महिला छन् ।

युएईपछि धेरै संख्यामा रोजगारीका लागि जाने मुलुक साउदी अरेबिया हो । जेठ महिनामा ११ हजार ९१९ जना पुरुष र ४२ जना महिला गरी जम्मा ११ हजार ९६१ जना साउदी अरेबिया गएका छन् ।

त्यस्तै, कतार ११ हजार ९१ जना, मलेसिया ७ हजार २३० जना र कुवेत ४ हजार ६३० जना रोजगारीका लागि गएको विभागले जनाएको छ ।

  • विदेश जानेमध्ये ४२ हजार दक्ष जनशक्ति

चालु आवको जेठ महिनामा मुलुकको दक्ष जनशक्ति नै ४२ हजार ८८२ जना बाहिरिएका छन् । जसमा ३७ हजार ७०४ पुरुष र ५ हजार १७८ जना महिला छन् ।

त्यस्तै, १८ हजार ६२६ जना पुरुष र २ हजार ४५ जना महिला गरी जम्मा २० हजार ६७१ जना अदक्ष नागरिक रोजगारीका लागि बिदेसिएका छन् ।

सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्य सीप सिक्नुपर्ने प्रावधान ल्याए पनि अझै सीप नसिकी विदेश जानेको संख्यामा कमी आउन सकेको छैन ।

त्यसैगरी, १० हजार ४९२ जना अर्धदक्ष जनशक्ति विदेश पलायन भएका छन् । जसमा ९ हजार ६३३ जना पुरुष र ८५९ जना महिला छन् ।

  • कुन जिल्लाबाट कति बिदेसिए ?

चालु आवको जेठ महिनामा सबैभन्दा बढी धनुषा जिल्लाबाट ३ हजार ९५५ जना पुरुष र ४० जना महिला गरी जम्मा ३ हजार ९९५ जना रोजगारीको सिलसिलामा विदेश गएका छन् ।

यस्तै, दोस्रोमा झापाबाट २ हजार ७५१ जना पुरुष र ६११ जना महिला गरी जम्मा ३ हजार ३६२ जना बाहिरिएका छन् ।

त्यसैगरी, सिरहाबाट ३ हजार २२७ जना पुरुष र २३ जना महिला गरी जम्मा ३ हजार २५० जना रोजगारका लागि विदेश पलायन भएका छन् भने मोरङबाट २ हजार ६३३ जना पुरुष र ४२४ जना महिला गरी जम्मा ३ हजार ५७ जना बाहिरिएका छन् ।

चालु आवको जेठ महिनामा रुपन्देहीबाट २ हजार १७२ जना पुरुष र १९० जना महिला गरी २ हजार ३६२ जना, सर्लाहीबाट २ हजार २१४ पुरुष र १२९ महिला गरी २ हजार ३४३ जना बाहिरिएका छन् ।

सो अवधिमा सप्तरीबाट २ हजार २३२ जना बाहिरिएका छन् । जसमा २ हजार २०४ जना पुरुष र २८ जना महिला छन् ।

त्यसैगरी, सुनसरीबाट २ हजार ३५१ जना, बाग्लुङबाट १ हजार ४०७ जना र चितवनबाट १ हजार ७६३ जना रोजगारीका लागि बाहिरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति: ४ असार २०८२, बुधबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।