रियल स्टेट र सेयर कर्जामा देखाएको लचकताले अर्थतन्त्र चलायमान हुन्छः उद्योग संगठन मोरङ


उद्योग संगठन मोरङले बजार चलायमान हुन नसकिरहेको वर्तमान अवस्थामा नेपाल राष्ट्र वैंकले आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको मौद्रिक नीति सकरात्मक रहेको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनले समय मै मौद्रिक नीति सार्वजनिक गर्नु सरकारको बजेटसस्ग तादम्यता देखिनु नै मौद्रीक नीतिको सकारात्मक पक्ष भएको उल्लेख गरेको हो ।

मौद्रिक नीतिमा संगठनको धारण प्रस्तुत गर्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले अर्थतन्त्रमा शिथिलता छाएको अवस्थामा बजारलाई तत्काल चलायमान वनाउने उद्देश्यका साथ रियल स्टेट र सेयर कर्जामा अपनाएको लचिलोपनाले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरे । घर निर्माण र खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाउनु, जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म तथा कम्पनीलाई प्रवाहित कर्जाका लागि पुनरसंरचना र पुनरतालिकीकरण गर्ने ब्यवस्था गरिनु सकरात्मक रहेको राठीको भनाई थियो । बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा बढाउनु जस्ता विषयलाई मौद्रिक नीतिमा समावेश गर्नाले विगत लामो समयदेखि छाएको सुस्तता हट्ने उनले विश्वास गरे ।

“ब्याजदर करिडोरको माथिल्लो सीमामा रहेको बैंकदर, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर र नीतिगत दरलाई घटाउनाले उद्योग, व्यवसाय र व्यक्तिगत व्यक्तिहरूले कर्जा लिने सम्भावना बढी अर्थतन्त्रमा लगानी र खर्च बढाउन मद्दत पु¥याउने छ । तथापी निक्षेपको ब्याजदर घट्दा हुनसक्ने सम्भावित पुंजी पलायनका सन्दर्भमा नेपाल राष्ट्र वैंक सचेत र सर्तक हुनुपर्दछ,” संगठनले भनेको छ ।

कृषि, साना तथा घरेलु उद्योगको हकमा चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रको आधारमा आवश्यकतानुसार परिमार्जन गर्ने विषयलाई मौद्रिक नीतिले सम्वोधन गरे पनि कसरी काम गर्ने भन्ने उल्लेख नहुँदा अन्यौलता देखिएको संगठनले जनाएको छ । अन्य उद्योग व्यवसायको हकमा उद्योग संगठन मोरङले मौद्रीक नीति मौन रहेकोले ठूला उद्योगको हकमा पनि यसलाई सम्वोधन गर्नुपर्ने उसको सुझाव छ । अहिले बजार संकुचनको मुख्य समस्या उद्योगी व्यवसायीले ऋण फिर्ता गर्न नसक्नु रहेको भन्दै संगठनले ऋणको पुर्नतालिकीकरण गर्ने सुविधा मौद्रिक नीतिले सम्वोधन गर्न नसकेको जनाएको छ ।

कर्जाको वर्गिकरण सम्वन्धि समस्याले पारेको प्रभावलाई सम्वोधन गर्न समयानुकुल अन्तराष्ट्रिय अभ्यास अनुसार गर्नुपर्ने सुझावलाई सम्बोधन गर्दै मौद्रिक नीतिले यसमा अध्ययन गरि आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ भन्नु सकारात्मक रहेको संघको भनाई छ । यसको कार्यान्वयनबाट मात्र प्रभाव देखिने हुदा यसका लागि चाडै अध्ययन गरी कार्यान्वयनमा ल्याओस भन्ने अपेक्षा संगठनले गरेको छ ।

ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट उक्त विवरण प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गर्ने व्यवस्थाले केवाइसी अपडेट गर्नुपर्दा सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा अलग अलग समयमा सम्पूर्ण डकुमेन्टहरू कागजातहरु पेश गर्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य गरी प्रक्रियामा सहजता हुने भएकाले यसलाई तत्काल कार्यान्वयनमा ल्याउन संगठनले सुझाव दिएको छ ।

त्यसैगरी एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) को स्थापना विषय संगठनले सबैभन्दा पहिला उठाएको र गत मौद्रिक नीतिमा यस्को प्रावधान राखिएको भएतापनि कानुन निर्माणको अभावमा कार्यान्वयनमा नआएले अविलम्व कानुन वनाई यसलाई कार्यान्वयनामा ल्याउनु पर्नेमा संगठनले जोड दिएको छ ।

निर्यातमूलक उद्योग, स्र्टाटअपहरुको सन्दर्भमा भने मौद्रिक नीति मौन रहेको संगठनले औल्याएको छ । दीर्घकालिन महत्वका विषयलाई नीतिले महत्व नदिनु र कहिले खुकुलो र कहिले कसिलो बनाउनुले वैदेशिक लगानीका क्षेत्रहरुमा समेत अन्यौलता छाउने भएकाले अनुमानयोग्न नीतिगत व्यवस्था कायम गरिनु पर्नेमा संगठनले जोड दिएको छ ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  २० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।