काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ सकिन २ दिन बाँकी हुँदा लक्ष्यको ७९ प्रतिशत मात्र राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आवमा ११ खर्ब २१ अर्ब २५ करोड ५३ लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ११ खर्ब २१ अर्ब २५ करोड ५३ लाख रुपैयाँ संकलन गरेको छ ।
जसमा कर राजस्वतर्फ १० खर्ब १४ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ संकलन भएको छ । यो कुल लक्ष्यको ७९.०१ प्रतिशत हो । चालु आवमा १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपैयाँ कर राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म १ खर्ब ६ अर्ब ६३ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको ७८.९४ प्रतिशत हो ।
यस्तै, सरकारले अनुमान गरेभन्दा निकै कम मात्र ऋण प्राप्त गरेको छ । महालेखा नियन्तकको कार्यालयका अनुसार सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख बराबर अनुदान प्राप्त हुने अनुमान गरे पनि त्यसको ४४.३४ प्रतिशत मात्र अर्थात् २३ अर्ब २० करोड १५ लाख रुपैयाँ मात्र प्राप्त भएको छ ।
त्यस्तै, सरकारको खर्चतर्फ वार्षिक लक्ष्यको ८१.४९ प्रतिशत खर्च भएको छ । चालु आवमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये हालसम्म १५ खर्ब १५ अर्ब ९६ करोड ६३ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च छ । चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म ९ खर्ब ८० अर्ब ९७ करोड १२ लाख खर्च भएको छ । यो लक्ष्यको ८६ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ लक्ष्यको ६१ प्रतिशत बजेट खर्च भएको छ ।सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख पुँजीगत बजेट छुट्ट्याएकामा हालसम्म २ खर्ब १४ अर्ब ९५ करोड २७ लाख रुपैयाँ खर्च भएको छ ।
यस्तै, सरकारले नियमित रूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ८७.१४ प्रतिशत खर्च गरेको छ । चालु आवमा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएकामा हालसम्म ३ खर्ब २० अर्ब ४ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।










प्रतिक्रिया