निर्यात वार्षिक १० खर्ब पुर्‍याउन सकिन्छः महासंघअध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निर्यात वार्षिक करिब १० खर्ब पुर्‍याउन सकिने बताएका छन् । उनले कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै रहेको विदेशी लगानी केही वर्षमै १० प्रतिशत पुर्‍याउन सकिने पनि बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले सिथिल अर्थतन्त्र विस्तारका लागि काम गरिरहेको समेत बताए ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले अर्थतन्त्रको विस्तार र नेपालमा लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम र नीतिगत पैरवी गरिरहेको र यसमा सरकारको भरपुर सहयोग रहेको जनाए । निजी क्षेत्रको विकास र विस्तारमा सरकारले निर्वाह गरिरहेको भूमिकाप्रति उनले आभारसमेत व्यक्त गरे ।

‘हामीले लगानी सम्वद्ध कानुनहरूमा समस्या रहेको विषय उठायौँ । सरकारले कानुनमा संसोधन गर्‍यो । द्विपक्षीय लगानी प्रवर्द्धनका लागि सम्झौता आवश्यक भन्यौँ, त्यसको सरकारले खाका तयार पारेको छ’, उनले भने, ‘नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेकोले सुधार आयोगको प्रस्ताव गर्‍यौँ, आयोग बनेर सुझाव सरकारसमक्ष पेश गर्‍यो । त्यसलाई सरकारले आत्मसात गरेको मात्र नभई बजेट र मौद्रिक नीतिमा केही सुझाव समावेश पनि भएको छ । यी सबै कामका लागि म सरकारलाई आभार व्यक्त गर्दछु ।’

महत्त्वपूर्ण व्यावसायिक व्यक्ति सीआईपी सम्मानले व्यवसायीलाई सम्मानित भएर व्यवसाय गर्न प्रोत्साहन गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार यसरी सम्मानित हुने व्यक्तिहरूलाई सरकार र समाजले निक्कै महत्त्व दिने गरेको बताए । उनले हरेक दुई वर्षमा सीआईपी प्रदान गर्ने निश्चित मिति तोकेरै सीआईपी डे, मनाउनुपर्ने सुझावसमेत दिएका छन्।

अध्यक्ष ढकालले यी सुधारसँगै नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले निर्वाह गर्न सक्ने भूमिका र त्यसले अर्थतन्त्रको मुहार र आकार नै फेर्न सक्ने सम्भावना रहेको सीआईपीबाट सम्मानित हुने व्यक्तित्व र संस्थाबाट नै पनि हेर्न सकिने धारणासमेत व्यक्त गरे।

उनले आफूहरूले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाएको र यसले निजी क्षेत्रलाई धेरै नै उत्साहित बनाउने हुँदा कार्यान्वयनका लागि सरकारसँग आग्रह गरेका छन् ।नेपाल सरकारले नेपाल उद्योग वाणिज्य महासंघलाई साझेदारको रुपमा निरन्तर सहकार्य गर्ने अवसर प्रदान गरेकोमा सरकारलाई विशेष धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: १ श्रावण २०८२, बिहिबार  १४ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।