काठमाडौँ । आईएमई पे र खल्ती मर्ज भएर साउन १ गते देखि ‘खल्ती बाई आईएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। नेपालमा पहिलो पटक भएको २ वालेट बिचको यस एकीकरणलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको उपस्थितिमा याक एन्ड यतिमा एक भव्य समारोह गर्दै औपचारिक घोषणा गरिएको हो।
झन्डै १ दशक देखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै आ–आफ्नो पहिचान बनाएका यी २ वालेटले १ भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार शुभारम्भ गरेका छन्। १ मात्र ब्याज दिने वालेट रूपमा रहेको आईएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवाहरूका लागि प्रख्यात थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्नो नयाँ इनोभेसनका कारण युवा पुस्ता माझ लोकप्रिय थियो। अब यी दुवै वालेट मर्ज भएर एक भए पश्चात् आ–आफ्ना उत्कृष्ट फिचरहरूलाई अझै परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा पस्किने अपेक्षा गरिएको छ ।
आईएमई पे आईएमई ग्रुप अन्तरगत सञ्चालनमा रही आएको थियो भने ४ जना सह–संस्थापक मिलेर स्थापना भएको खल्ती वालेटमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपहरू जस्ता कर्पोरेटहरू लगानीकर्ताको रूपमा भित्रिएका थिए।
नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’ नामबाट सञ्चालन हुनेछ।
साबिकका आईएमई पेका प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाई आईएमई’ मा माईग्रेट गर्ने सुविधा सार्वजनिक भइसकेको छ जसबाट आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टहरू र सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्तीका प्रयोगकर्ताहरूले भने आफ्नो खल्ती एपलाई अपडेट गरी नयाँ एपको अनुभव गर्न सक्नेछन्।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, बम बहादुर मिश्रले उक्त समारोहमा डिजिटल भुक्तानीले वित्तीय पारदर्शकताको बढोत्तरी हुने भएका कारण हरेक क्षेत्रमा यसको लागु हुन जरुरी भएको कुरालाई खास जोड दिए । यसका साथै सबै नेपालीहरू माझ अझ सुरक्षित, अझ सरल र सबल भुक्तानी प्रक्रिया लागि १ प्रयोगकर्ता मैत्री प्लेटफर्मको रूपमा अगाडि बढ्न बधाई तथा शुभकामना व्यक्त गरे ।












प्रतिक्रिया