बेनीद्वारा ३२९ योजना सम्पन्न


म्याग्दी । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ३२९ योजना सम्पन्न गरेको छ ।

सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिँचाइ, खानेपानी, पदमार्ग, ढल ब्यवस्थापन, खेलमैदान, अर्याघाट, यात्रु प्रतिक्षालय, घेराबार, पोखरी निर्माणलगायत पूर्वाधारसम्बन्धी ३३७ मध्य ८ वटा बाहेकका योजना सम्पन्न भएका हुन् ।

पूर्वाधार विकास शिर्षकमा लागि १३ करोड ४१ लाख ९० हजार रुपैयाँ बिनियोजन भएकोमा ८६.६९ प्रतिशत अथवा ११ करोड ५७ लाख १३ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

२२ किलोमिटर सडक स्तरोन्नति, २ किलोमिटर सत्र मिटर सडक ढलान, १ किलोमिटर ३३७ मिटर कालोपत्र, ३ किलोमिटर २० मिटर ग्रावेल, २ किलोमिटर ९०५ मिटर नयाँ ट्याक खोलिए, ५ किलोमिटर ९०६ मिटर पदमार्ग निर्माण र १०० मिटरमा ढुङ्गा छापिएको छ ।

१ हजार ३११ मिटर नाली, ९०३ मिटर ढल र २० वटा खानेपानीको टङ्की निर्माण, २ वटा पोखरी, २ वटा विद्यालय भवन, १ वटा स्वास्थ्य संस्था, ५ वटा यात्रु प्रतिक्षालय, १४ वटा सामुदायिक भवन, १० वटा विद्यालय भवन, ६ वटा मठमन्दिर, ७ वटा वडा कार्यालय मर्मत, ९ वटा खेलमैदान, १ वटा शवदाह स्थल र १३ वटा विपन्न नागरिकको आवास निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

नगरस्तरीय ३० वटा योजनामध्य १२ वटा ठेक्कामार्फत कार्यान्वयन भएको छ । वडास्तरीय ३१६ मध्यनगर गौरवको मानिएको लभ्लिहिल साहासिक पिङ, बेनीको शान्ति पार्कसहित ७ वटा योजना कार्यान्वयन भएनन् । वडा नं–३, ४, ६, ९ र १० ले सतप्रतिशत योजना कार्यान्वयन गरेका छन् । १ मा तीन, २, ५,७ र ८ नम्बर वडामा १÷१ वटा योजना कार्यान्वयन नभएका हुन् ।

प्रधानमन्त्री रोजगारका २१ मध्य २० वटा योजना कार्यान्वयन भएका छन् । सुचिकृत ९९६ जनामध्य ७१ जनालाई न्युनतम १०० दिनको रोजगारी पाएका छन् । उनिहरुले १ हजार २०० मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलिङ्ग र १ हजार २६० मिटर पदमार्ग निर्माण गरेका छन् ।

ठेक्कामार्फत कार्यान्वयन गरेका बेनी–लभ्लीहिल–ज्यामरुककोट सडक स्तरोन्नति, महारानीथान–छाप–डाडाखेत, बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको पहिलो र दोस्रो प्याकेज, कालिपुल कृषि भवन, रत्नेचौर परम वैदिक सनातन धार्मिक आश्रम, गलेश्वर बजार सौन्दर्यकरण, पशु बधशाला, वडा नं–७ को कोठा थप, कालीगण्डकी स्वच्छता कार्यक्रम मार्फत दोभानमा शवदाह स्थल र बेनी खुल्ला मञ्च खेलमैदान निर्माण सकिएको छ ।

सडक बोर्डको बेनी–पुलाचौर सडक मर्मत र नगरपालिकाको अर्थुङ्गे–पुलाचौर सडक स्तरोन्नति योजनाको ८५/८५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का सम्झौता भएको रावण पार्क निर्माण योजनाको ९४ प्रतिशत प्रगति भएको छ । निर्माणाधिन ३ वटा योजनाको आगामी असोज महिनासम्म म्याद थप भएको नगर प्रमुख सुरत केसीले बताए ।

नगर उपप्रमुख ज्योती लामिछानेले पिच र ढलान हुने सम्पूर्ण सडकको कोर कटिङ तथा ५ लाख रुपैयाँ भन्दा बढी लागत भएका योजनाको स्थलगत अनुगमन गरिएको बताए । ५ लाख रुपैयाँसम्म लागत अनुमान भएका योजना तथा कार्यक्रमको सम्झौता तथा अनुगमनको जिम्मेवारी वडा कार्यालय र वडास्तरीय अनुगमन समितिलाई दिइएको छ ।

योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन १, २, ३, ४, ५, ९ र १० का उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको थियो । कार्ययोजना बनाएर पहिलो चौमासिकमा सर्वेक्षण, दोस्रो चौमासिकमा सम्झौता गरी कार्यान्वयनमा लगिएकाले अधिकांश योजना सम्पन्न भएकार नगर उपप्रमुख लामिछानेले बताए ।

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार  ११ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।