पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण


म्याग्दी । पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ ।

जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटेबाट मोदी र जलजला गाउँपालिकाको सिमानामा पर्ने जलजलासम्म ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण भएको हो ।

पर्यटन तथा उद्योग कार्यालय पर्वतमार्फत सञ्चालित उक्त योजनाको उपभोक्ता समितिका सचिव टीका पुनले माटेबाट वाइफाइडाँडा हुँदै जलजलासम्म २ किलोमिटर दूरीमा ढुङ्गाको सिँढी चिनेर पदमार्गका साथै ३ ठाउँमा विश्रामस्थल निर्माण गरिएको जानकारी दिए ।

“परापूर्वकालमा गोठालाहरूले प्रयोग गरेको बाटोलाई पदमार्गमा रुपान्तरण गरिएको हो”, उनले भने, “बस्तीबाट टाढा पदमार्ग बनाउन लेसपारका २५ जना मजदुरहरू ४ महिनासम्म निर्माणस्थलमै बास बसेका थियौँ ।” पदमार्गका साथै दुलेखानी र वाइफाइडाँडामा चौतारीसहित विश्रामस्थल र दृश्यावलोकनस्थल निर्माण भएको छ ।

३ हजार ३ सय मिटर उचाइमा रहेको माटेबाट दुलेखानी–वाइफाइडाँडा हुँदै ३ हजार मिटर उचाइमा अवस्थित जलजलासम्म पहाडको टाकुरामा निर्माण भएको पदमार्गको यात्राका क्रममा अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका साथै पर्वत, कास्की, बागलुङ र म्याग्दीको ग्रामीण बस्ती तथा पहाडहरूको अवलोकन गर्न सकिन्छ । मृगलगायत जङ्गली जनावर पनि देखिन्छन् ।

यसअघि व्यवस्थित पदमार्ग नहुँदा पर्यटकले बाटो बिराउने, भिरको झाडीमा जोखिम मोलेर हिँड्नुपर्ने समस्या थियो । पदमार्गले पदयात्रालाई सुरक्षित बनाएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए । आव २०८२/८३ मा प्रदेश सरकारले विनियोजन गरेको थप २० लाख रुपैयाँ बजेटबाट जलजलबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उनले बताए । यसअघि वाइफाइडाँडामा प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेटबाट आश्रयस्थल भवन निर्माण भएको थियो भने गत वर्ष जलजला र मोदी गाउँपालिकाको साझेदारीमा जलजलामा विद्युत् सुविधा पुर्याइएको थियो ।

हिन्दू धार्मिकग्रन्थ रामायणमा जलजलालाई कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको छ । विभिन्न किसिमका जडीबुटी पाइने जलजला जैविक विविधतायुक्तस्थल हो । जलजलाको हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्द्धनको गतिविधि सञ्चालन भएको छ । जलजलाको पहाडका बीचमा सीम क्षेत्र छ । यहाँ बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना अघि सारिएको छ । म्याग्दीको बेनीबाट पर्वतको मल्लाज, शालिजा हँदै जलजलासम्म कच्ची सडक पुगेको छ ।रासस

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  ०८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।