डुम्रे-बेँसीसहर सडकको ४ ठाउँमा कल्भर्ट निर्माण


लमजुङ । तनहुँ–लमजुङ जोड्ने मुख्य डुम्रे–बेँसीसहर सडकखण्डको लमजुङतर्फ विभिन्न ४ ठाउँमा स्याब कल्भर्ट ढलान निर्माण सम्पन्न भएको छ ।

सङ्घीय सरकारको लगानीमा भोटेओडार, गैरी, भकुण्डे, दलाल निरको खहरेखोलामा स्याब कल्भर्ट निर्माण कार्य सम्पन्न भएको हो । डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी नविन विष्टका अनुसार सो स्थानमा गत आवको अन्तिमतिर स्याब कल्भर्ट निर्माण भएसँगै यतिबेला वर्खायाममा सवारीसाधन सहज रुपमा सञ्चालन हुँदै आएको छ ।

विषेशगरी वर्षायाममा खहरेखोलाले सवारीसाधन सञ्चालनमा बाधा पुर्‍याउँदै खरहेखोला बढेका बेलामा सवारीसाधन रोकिनुपर्ने अवस्थाको अत्न्य भएको छ । उक्त स्याब कल्भर्टमध्ये भोटेओडार स्याब कल्भर्ट सगरमाथा बोइरिङ कन्टक्सन कम्पनीले भोटेओडारमा ६९ लाख ९७ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको छ ।

विसं २०७९ फागुन १४ गते सम्झौता गरेको यस कम्पनीले यहाँ गत आर्थिक वर्षको असारभित्रमा काम सम्पन्न गर्नुपर्ने समय रहेको र सोही समयावधिमै सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ । स्याब कल्भर्टको चौडाइ १० र लम्बाइ छ मिटर रहेको छ । त्यस्तै गैरीखोला र खहरेखोलामा सगरमाथा बोइरिङ कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले एउटै ठेक्कामा स्याब कल्भर्ट निर्माण सम्पन्न गरेको छ ।

दुवै स्याब कल्भर्ट समान सात मिटर लम्बाई र १० मिटर चौडाइ रहेको छ । सो निर्माण सम्पन्न गर्न कम्पनीले १ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । विसं २०७९ फागुन १४ गते २ स्थानको काम सम्पन्न गर्ने सम्झौता भएको थियो । समयभित्रमा काम सम्पन्न नभएपछि पुनःम्याद थप गरी सम्पन्न भएको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै, बेँसीसहर नगरपालिका वडा नं १ गाईखुरे झरना नजिकै खोल्सामा ३ मिटर उचाइ, ४ मिटर लम्बाइ र १० मिटर चौडाइको स्याब कल्भर्ट निर्माण सम्पन्न भएको छ । सिद्धिविनायक निर्माण सेवा कम्पनीले यससँगै रानीकुवामा स्याब कल्भर्ट निर्माण गर्नेलगायत कामका लागि १ करोड १५ लाख रुपैयाँमा जिम्मा लिएर सम्पन्न गरेको छ ।

यस डुम्रे–बेँसीसहर सडकको विभिन्न स्थानमा खहरेखोला रहेको र सो स्थानमा आवश्यक कल्भर्ट नहुँदा बर्सेनि बर्खायाममा खहरेखोला उर्लिने गर्दा दैनिकजसो सडक अवरुद्ध हुने गरेको थियो । बेँसीसहरदेखि काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा सवारीसाधन जाने गर्दछन् भने सो स्थानबाट लमजुङ बेँसीसहर आउने गर्दछन् ।

साथै हिमाली जिल्ला मनाङसमेत जाने यही मार्ग पर्दछ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस विसं २०४६ मा ट्र्याक खुलेसँगै सवारीसाधन सञ्चालनमा आएयता खहरेखोलाले सवारीसाधन बर्खामा अवरुद्ध बनाउँदै आएको थियो । करिब ४२ किलोमिटर रहेको डुम्रे–बेँसीसहर सडक आर्थिक वर्ष २०५४र५५ मा कालोपत्र सम्पन्न गरिएको थियो । करिब २४ किलोमिटर लमजुङतर्फको भागमा यो सडक पर्दछ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।