काठमाडौँ । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको लागि १ अर्ब ५९ करोड ९७ लाख रुपैयाँको ऐतिहासिक बजेट पारित गरेको छ । चालु वर्षमा महत्वाकांक्षी र प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्यका साथ गत असार १३ गते बसेको बोर्डको कार्यकारी समितिको बैठकमा बजेट प्रस्तुत गरिएको थियो ।
बजेट ७० प्रतिशत रकम अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्नको लागि छ्ट्याएको छ । बोर्डका अनुसार यो केबल अंकको बजेट मात्र नभएर नेपालको पर्यटन विकासमा नयाँ युगको घोषणाको सुरुवात हो । साथै बार्डले भारतमा कार्यालय खोलिने पनि जनाएको छ ।
कुल बजेटको करिब १ अर्ब १२ करोड रुपैयाँ अन्तर्राष्ट्रिय बजारीकरण र प्रवद्र्धनात्मक गतिविधिमा खर्च गरिने भएको हो । जसअन्तर्गत पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धनमा ४३ करोड ६१ लाख रुपैयाँ खर्च गरिने बोर्डले जनाएको छ । विशेष प्रवद्र्धनात्मक कार्यक्रममा ४६ करोड २ लाख रुपैयाँ, पर्यटन सम्पदा विकासमा १८ करोड ६३ लाख रुपैयाँ, जनसम्पर्क तथा प्रचारप्रसारको लागि १२ करोड ९५ लाख रुपैयाँ विनियोजन गरेको छ । क्षेत्रीय कार्यालय स्थापना तथा सञ्चालको लागि ११ करोड १२ लाख रुपैयाँ र अनुसन्धान तथा योजनमा २ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
साथै बोर्डले अन्तर्राष्ट्रि व्यापार मेला, सेल्स मिसन, डिजिटल मिडिया अभियान, डायस्पोरा संलग्नता र सिने पर्यटन जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ । युरोप, अमेरिका, भारत, चीन, जापान, थाइल्यान्ड र भियतनाम जस्ता प्रमुख बजारहरुलाई लक्षित गरी प्रवद्र्धनात्मक कार्यहरु तीव्र पारिने बोर्डले जनाएको छ ।
एक महत्वपूर्ण कदमको रुपमा, क्षेत्रीय पहुँच र अभियानको प्रभावकारीता बढाउनको लागि भारतमा कार्यालय स्थापन गर्न लागिएको बोर्डले जनाएको छ । यो कदमले छिमेकी बजारमा नेपालको पर्यटनलाई थप बलियो बनाउने बार्डले जनाएको छ ।










प्रतिक्रिया