काठमाडौँ । पछिल्लो एक महिनामा अधिकांश तरकारीको मूल्यमा उच्च वृद्धि हुँदा उपभोक्ताको भान्सा महँगिएको छ । मौसमी उत्पादन र आपूर्ति व्यवस्थापनमा आएको अवरोधका कारण बजारमा तरकारीको मूलय बढेको हो । भान्सामा सबैभन्दा बढी खपत हुने तरकारीहरुको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परेका छन् ।
पछिल्लो १ महिनामा हरियो धनियाँको मूल्य ५५५ प्रतिशतले आकासिएको छ । गत असार ५ गते प्रतिकेजी ४५ रुपैयाँमा किनबेच भएको हरियो धनियाँ साउन ५ गते प्रतिकेजी २७५ रुपैयाँ पुगेको हो । हाल हरियो धनियाँ न्यूनतम २५० र अधिकतम ३०० रुपैयाँ पुगेको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा आलु प्रतिकिलो औषत मूल्य असार ५ गते ४० रुपैयाँ थियो । काउलीको मूल्य प्रतिकिलो ६२ रुपैयाँ थियो । ठीक एक महिनापछि कालीमाटी तरकारी बजारमा आलुको मूल्य प्रतिकिलो ४४ रुपैयाँ थोक मूल्य तोकिएको छ भने काउलीको मूल्य ६५ रुपैयाँ पुगेको छ ।
अघिल्लो महिनाको तुलनामा विभिन्न तरकारीको मूल्य उकालो लागेको छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिने ९३ जातका तरकारी तथा फलफूलमध्ये अघिल्लो महिनाको तुलनामा धेरै जसो तरकारी तथा फलफूलको मूल्य बढेको छ ।
अघिल्लो महिनाको तुलनामा रायोको साग १७१ प्रतिशतले बढेको छ । असार ५ गते थोक मूल्य ३८ रुपैयाँमा किनबेच भएको सागको मूल्य साउन ५ गते ६५ रुपैयाँ पुगेको हो ।
निउरो २५० प्रतिशत र मकैबोडी १२५ प्रतिशत, गाँजर १४३ प्रतिशत र परवल १४ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
सिताके च्याउ, भिन्डी, लोका, घिरौला, कुरिलो, कन्य च्याउलगायतका तरकारी भने यो महिना सस्तिएको छ ।












प्रतिक्रिया