नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । नेपाली उद्यमी मञ्च (नेपाल इन्टरप्रेनर्स फोरम) ललितपुर च्याप्टरले चौथो वार्षिक साधारण सभा गत असार २७ गते शुक्रबार बिप्लाजा, पुलचोकमा सम्पन्न गरेको छ ।

उक्त सभाको प्रमुख उद्देश्य संस्था सञ्चालनमा उल्लेखनीय योगदान दिने नेतृत्वलाई सम्मान गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो । यसै क्रममा, संस्थाका तत्कालीन अध्यक्ष विनु श्रेष्ठले आफ्नो जिम्मेवारी नव–निर्वाचित अध्यक्ष एप्टिस रविलाई औपचारिक रूपमा हस्तान्तरण गरे ।

कार्यक्रममा मञ्चका सदस्यहरू, साझेदार संस्था, शुभेच्छुक तथा उद्यमशील क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो । सभाले विगत वर्षका उपलब्धिलाई आत्मसात गर्दै नयाँ नेतृत्वलाई स्वागत गर्ने अवसरसमेत प्रदान गर्यो ।

कार्यक्रमकी प्रमुख अतिथि तथा प्रतिनिधि सभाकी सांसद एवं पूर्व शिक्षामन्त्री सुनीता श्रेष्ठको उपस्थिति कार्यक्रममा विशेष आकर्षण बन्यो । सहभागीले उनको उपस्थितिलाई उत्साहजनक तथा प्रेरणादायी रूपमा स्वागत गरेका थिए ।

पछिल्लो कार्यकालमा ललितपुर च्याप्टरले युवा उद्यमशीलता, नेतृत्व विकास र नवप्रवर्तनमा केन्द्रित विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको थियो, जसलाई सभामा विशेष रूपमा प्रस्तुत गरियो ।

अध्यक्ष पदबाट विदा लिँदै विनु श्रेष्ठले आफ्नो कार्यकालमा टिमले देखाएको समर्पण र सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वको सफलताको कामना गरिन् । नयाँ अध्यक्ष एप्टिस रविले संस्थालाई नयाँ उचाइमा पुर्याउने दृढता व्यक्त गर्दै सहकार्य, प्रभावमुखी कार्यक्रम तथा उद्यमीका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

सभामा २०२५/२६ कार्यकालका लागि नयाँ कार्यसमितिको औपचारिक घोषणा समेत गरिएको थियो । जसमा एप्टिस रवि अध्यक्ष, विनु श्रेष्ठ निवर्तमान अध्यक्ष, अनुकुल श्रेष्ठ प्रथम उपाध्यक्ष, प्रवकरण श्रेष्ठ दोस्रो उपाध्यक्ष, वनशान ढकाल, अशांक एसजेबी राणा, सब्बल खान, आविष भण्डारी, रिटेज श्रेष्ठ, श्रद्धा कटवाल, अविनश रौनियार, कुशल जोशी, अभिषेक शारडा, कार्यकारिणी सदस्य पावलजा मानन्धर च्याप्टर संयोजक रहेको छ ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  ११ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।