चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब बढीको विदेशी लगानी स्वीकृत, पर्यटन क्षेत्रमा आकर्षण बढी


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा विभिन्न चार क्षेत्रमा लागि एक अर्ब ५ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।

उक्त लगानी ९ वटा परियोजनामार्फत भित्रिएको उद्योग विभागले जनाएको छ । यी परियोजनाहरुले ३८६ जनालाई रोजगारीप्रदान गर्ने विभागले जनाएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि ३२ गतेसम्ममा उक्त मात्रामा वैदेशीक लगानी स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । यो अवधिमा स्वीकृत भएको वैदेशीक लगानीमा पर्यटन क्षेत्रमा आकर्षण बढी रहेको पाइएको छ । यो एक महिनामा पर्यटन क्षेत्रका ४ आयोजनामा ५५ करोड रुपैयाँ वैदेशीक लगान िस्वीकृत भएको छ । जसबाट १३९ जनालाई रोजगारी सिर्जना हुने दाबी गरिएको छ ।

उत्पादनमूलक क्षेत्रमा २५ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । उत्पानमूलक क्षेत्रको एउटा आयोजनामा ५० जनाको राजगारी सिर्जना हुने बताइएको छ । सेवामूलक क्षेत्रका २ वटा आयोजनामा १५ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत हुँदा १२७ जनालाई रोजगारी प्रदान गरिने जनाइएको छ ।

यस्तै सुचना तथा सञ्चर प्रविधि क्षेत्रका २ वटा परियोजनामा १० करोड ५ लाख लगानी स्वीकृत भएको छ । उक्त मात्रामा लगानी स्वीकृत हुँदा ७० जनालाई सिर्जना हुने दाबी गरिएको छ ।
समग्रमा नौ आयोजनाहरुको कुल लागत ९५ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमा ७७ करोड ९७ लाख रुपैयाँ स्थिर पूँजी रहेको छ भने १७ करोड ५३ लाख रुपैयाँ चालु पूँजी रहेको छ तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  ०७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।