कञ्चनपुर । कैलालीको धनगढी उपमहानगरपालिका–७ जोखरतालका सुुशील चौधरी विगत एक दशकदेखि थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बिक्री गर्दै आएका छन् । उनी कञ्चनपुरका थारु बस्ती—पिपलाडी, बेलौरी, लालपुर, देखतभूली, जाई, बञ्जरिया, शान्तिपुरलगायतका क्षेत्रमा पुगेर बिक्री गर्छन् । उनले थारु महिलाको परम्परागत लेहङ्गा, चोल्या, मादलमा लगाउने झालर तथा पुरुषले लगाउने धोती बेच्ने गर्छन् । उनका अनुसार सामान्य समयमा थोरै बिक्री भए पनि दसैँ, तिहार लगायतका चाडपर्वका बेला बिक्री निकै बढ्छ । महिनामा ३० हजारदेखि ४० हजार रुपैयाँसम्मको आम्दानी हुने उनी बताउछन् ।
चाडपर्वमा भने आम्दानी तेब्बर हुन्छ । उनकी श्रीमती रुपा चौधरीले यी परम्परागत पोसाक तयार गर्ने गर्छन् । रुपाले छ महिनाको सिलाइकटाइ तालिम लिएर थारु महिलाका लागि विशेष पहिरन बनाउँदै आएको छ । उनका अनुसार, लेहङ्गा र चोल्या बनाउन ३ देखि ५ दिनसम्म लाग्छ । पहिरन बनाउन सितारा, कटौती, गोठ, नेफा, टुना जस्ता कलात्मक डिजाइन र रङ्गीचङ्गी कपडा प्रयोग गरिन्छ ।
सामान्य लेहङ्गा बनाउन करिब ३ हजार ५०० रुपैयाँ लागत पर्छ, भने बुट्टावाला लेहङ्गामा ६ हजार ५०० रुपैयाँ लागत लाग्छ । ती लेहङ्गा क्रमशः ४ हजार ५००, ७ हजार ५०० रुपैयाँमा बिक्री हुन्छन् । त्यस्तै, ३०० लागतमा तयार हुने चोल्या ५०० देखि ७०० मा बिक्री हुन्छ भने ३०० मा तयार हुने धोती भने ५०० मा बिक्री हुने गरेको छ ।
रुपाले बजारको अवस्था हेरेर र मागअनुसार चोल्या र लेहङ्गा तयार गर्ने बताए । अरु बेला अन्य महिलाका कपडा जस्तै लेडिज सुट, ब्लाउज, पेटिकोट, मेक्सी पनि सिलाइ गर्ने कार्य उनले गर्दै आएका छन् । चौधरी दम्पतीले हाल परम्परागत तथा आधुनिक कपडा तयार गर्ने पसलमा झण्डै १२ लाख रुपैयाँ लगानी गरेका छन् ।
सुशीलले तयारी कपडा बेच्ने कार्यसँगै फुर्सदमा प्लम्बरको काम गरेर अतिरिक्त आम्दानी गर्दै आएका छन् । चौधरी दम्पतीले कपडा व्यवसायबाट वार्षिक झण्डै रु छ लाख जति आम्दानी गर्दै आएका छन् ।
उनका अनुसार थारु महिलाले मात्र लेहङ्गा–चोल्या लगाउने भएकाले चाहेजति बिक्री सम्भव हुँदैन । त्यसैले अन्य तयारी पोसाक सिलाइको गरेर जीविका चलाउनुपर्ने बाध्यता छ । “सिलाइकटाइ र परम्परागत कपडाको आम्दानीले परिवारको घरखर्च जेनतेन धानेको छ,” उनले भने ।












प्रतिक्रिया