नेपालमा खेल्न प्रतिबन्ध लगाइएको तास भन्सारबाटै करोडौँको आयात !


काठमाडौं । दसैंलाई लक्षित गरेर चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो दुई महिनामा ९ करोड ९ लाख ९ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो ।

चाडपर्वको बेलामा अत्यधिक माग हुने तास विभिन्न मुलुकबाट आयात गरिने गरेको छ । विशेषगरी रमाइलो तथा जुवाको रुपमा पैसाको लेनदेन गरी खेलिने तास आयातमा नेपालबाट करोडौं रुपैयाँ बाहिरिने भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा दसैंतिहारलगायत चाडपर्वमा तास खेल्ने गरिन्छ । सोही अवधिलाई लक्षित गरी तास आयात हुने गरेको छ ।

नेपालमा खेल्नको लागि प्रतिवन्ध लगाइएको तास नेपालमा चीन, भारत, अमेरिका, बेलायत लगायत मुलुकबाट आयात हुने गरेको छ ।

आर्थिक वर्ष २०७४/७५मा १४ करोड ५७ लाखको १ करोड २१ लाख प्याकेट तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७५/७६मा अहिलेसम्मकै सबैभन्दा धेरै १ करोड ५७ लाख प्याकेट तास आयात भएको थियो । सो आर्थिक वर्षमा २५ करोड ६ लाख मूलयको तास नेपाल भित्रिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख मूल्यको १ करोड ३२ लाख प्याकेट तास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक करोड ३४ लाख प्याकेट तास आयात भएको थियो ।

२०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँ बढीको तास विभिन्न देशबाट आयात गरेको थियो। सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँ बराबरको एक करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको थियो।

यस्तै, २०७९/८० मा भने २१ करोड २७ लाख ९४ हजार रुपैयाँ बराबरको एक करोड ७७ हजार नौ सय ८९ बुक तास आयात भएको थियो।

अघिल्लो वर्ष २०८०/८१ मा भने ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो। त्यति तास आयात गर्दा २७ करोड ४९ लाख बाहिरिएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार  ०९ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।