२८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि भारतको स्वीकृति


काठमाडौं । भारतले नेपाल विद्युत् प्राधिकरणलाई २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति दिएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरिदिएको हो ।

भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको हो । सबै आयोजनाको निर्यात गत मंगलबारबाट लागु हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृति भएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

नेपालले भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात गर्दै आएको छ । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आइएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार  १२ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।