वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो


चितवन । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो ।

पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ । पुलको पहुँच सडकको काम सुरु गरिएको छ । ४ वटा पुलको पहुँच सडकको काम गर्न लागिएको हो । पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम पनि सुरु गरिएको छ ।

उनका अनुसार २/३ दिनमा कालोपत्रको काम थाल्ने तयारी गरिएको छ । सो खण्डको ३८.८६ किलोमिटरमध्ये ८ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ । थप ५ किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ ।

दरैका अनुसार अन्तिम तयारीमा पुगेको ठाउँमा कालोपत्र गर्न लागिएको हो । यससँगै अन्य ठाउँमा कालोपत्रका लागि तयारीको काम गरिने छ । उक्त सडकखण्डमा पर्ने अन्य २ पुलमध्ये चरौदी खोलको पुलको एउटा फाउण्डेसन हालिएको छ । अर्कोतर्फको गरिँदै छ भने हुग्दी खोलाको पुलको दुवै फाउण्डेसन तयार भइसकेको छ ।

दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ । यस खण्डमा २.२किमी ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । ७.२ किमी सडक ४ लेन हुनेछ । ४ लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा ३ लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए। उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग २.३ किमीको हुनेछ भने बाँकी सडक २ लेनको हुनेछ ।

विसं २०७९ पुस १५ गते ३ वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई ३ चरण बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो चरणअन्तर्गत पर्दछ । आगामी पुस १५ मा म्याद यसको सकिँदै छ । म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताए। डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उनको भनाइ छ ।

शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ ।

यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार  १३ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।