अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु


झापा । पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका रुपमा महायज्ञ सुरु भएको छ ।

अर्जुनधारा नगरपालिका–७ मा रहेको जलेश्वरधाममा सुरु भएको महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुने अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले बताए। महायज्ञको उद्घाटन धार्मिक गुरु १००८ केशवानन्द स्वामीले गरेका छन् ।

उनले नयाँ पुस्तालाई संस्कार–संस्कृतिको पाठ सिकाउनुपर्ने बताए। “व्यक्तिमा जब संस्कार हुँदैन, उसको विवेक शून्य हुन्छ”, उनी भन्छन्, “त्यसैले सरकारले भौतिक संरचनामात्र विकास होइन, धर्म, संस्कृति र संस्कार जोगाउन पनि पहल गर्नुपर्छ ।”

महायज्ञमा धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी प्रमुख कथा वाचक र पण्डित हेमन्त भण्डारी उपवाचक रहेकमा छन् । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।

सरकारले नेपालका १०१ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, ४ वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्वीरलाई नेपाल सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

महाभारतकालीन किंवदन्तीअनुसार ५ पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ ।

विराट राजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाई फर्काएर ल्याएका थिए । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषबाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०८२, शुक्रबार  १३ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।