नेपाली नागरिकले हङकङ हुँदै यात्रा गर्दा ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने


काठमाडौँ । नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य मुलुक जाँदा तथा फर्कदा ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने भएको छ । हङकङ सरकारले नेपाली राहदानी बाहक यात्रुलाईअत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो।

नेपाली महावाणिज्य दूतावास हङकङले १५ नोभेम्बरबाट लागू हुने गरी यस्तो नियम ल्याएको हो । निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।

नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो ।

हङकङ विमानस्थल संसारकै व्यस्तमध्ये एक विमानस्थल हो । ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  ०७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।