सेजको भाडादर घट्यो, युरोपियन यूनियनले दिने २३.५८ मिलियन युरो अनुदान सहयाता स्वीकार गर्ने


काठमाडौँ । सरकारले सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर घटाएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सेजको भाडादर ७५ प्रतिशत द्दटाउने निर्णय गरेको हो । बैठकले वर्गमिटर २० रुपैयाँबाट घटाई प्रति वर्गमिटर ५ रुपैयाँ कायम राख्ने निर्णय गरेको हो ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा भाडा कटौती गर्नेबारे अग्रिम घोषणा गरेको थियो ।

बजेटले सेज र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई सुरुको तीन वर्ष भाडा छुट दिने घोषणा गर्नुका साथै सेजको भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने घोषणा गरेको थियो । चालु आवको बजेटले औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको ३० प्रतिशत भन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रका उद्योग सरह सुविधा दिने घोषणा समेत गरेको थियो ।

यस्तै, सरकारले युरोपियन यूनियनबाट ‘ग्रीन एण्ड रिलाएबल इनर्जी फर इकोनोमिक प्रोस्पेरिटी इन नेपाल’ परियोजनाका लागि प्राप्त हुने २३.५८ मिलियन युरो अनुदान सहयाता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, बैठकले विद्युत नियमन आयोगलाई साउथ एसिया इन्फ्रस्टक्चर रेगुलेसनको सदस्यता लिन स्वीकृति दिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत नेपाल पानी जहाज कार्यालयमा कार्यरत सहसचिव प्रेमकुमार सिंहले पेश गर्नु भएको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।

प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार  ०७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।