तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने पक्का, जापानले साढे ३१ अर्ब ऋण दिने


काठमाडौँ । कोटेश्वर-जडीबुटी अन्डरपास र फ्लाइओभर बनाउन जापानले साढे ३१ अर्ब ऋण दिने भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थतिमा नेपाल सरकार र जापान सरकारबीच ऋण सम्झौता भएको छ ।

जापानले उक्त आयोजनाका लागि ३४।५९ अर्ब जापानी येन (करिब ३१।७६ अर्ब रुपैयाँ) बराबर ऋण सहायता उपलब्ध गराएको छ ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने छ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ ।

यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । निर्माणपश्चात् यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा विपि राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिने बताइएको छ ।

हस्ताक्षरपछि जाइकाका नेपाल प्रमुख मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री रामेश्वर खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थापनमा सुधार हुने जापानी राजदूत तोरुले विश्वास व्यक्त गरे ।

गत २ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय भएको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार  ०७ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।