भारतले खुलायो बन्देज : सय भारुभन्दा ठूला दरका नोट नेपाल ल्याउन र लैजान पाइने


काठमाडौँ । १ सयभन्दा ठूला दरका भारतीय नोट नेपाल ल्याउन र लैजान पाइने भएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठूला दरका नोट पनि नेपाल भारत ल्याउनरलैजान पाउने व्यवस्था गरेको हो ।

यस अघि ठूला दरका भारतीय नोट नेपाल ल्याउन पाइए पनि नेपालबाट भारतमा लैजान पाउने व्यवस्था थिएन ।

भारतले सन् २०१६ मा ठूला दरका भारु नोटबन्दी गरेको थियो । त्यसपछि ठूला दरका नोट नेपाल ल्याउनरलैजान बन्देज थियो । नेपालले पनि यहाँ रहेका ठूला दरका भारु सटही नदिएपछि नेपालले पनि १ सयभन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो ।

आरबीआईले गरेको नयाँ व्यवस्था अनुसार १ सय भारुसम्मका नोटमा जतिसुकै रकम पनि भारत भित्र्याउन वा भारतबाट नेपाल ल्याउन पाइने व्यवस्था छ । यसमा कुनै सीमा तोकिएको छैन । तर, १ सयभन्दा माथिका नोटका हकमा भने २५ हजार भारुसम्म भारतबाट नेपाल ल्याउन वा लैजान पाइने व्यवस्था आरबीआईले गरेको छ ।

ठूला दरका भारतीय नोट यात्रा गर्नेले नै बोकेर ल्याउन पाउने तर पठाउन भने नपाउने व्यवस्था पनि आरबीआईले गरेको छ । यता, भारतले लगाएको बन्देज खुलाए पनि नेपालका तर्फबाट भने निर्णय हुन बाँकी छ ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  ०७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।