काठमाडौँ । विगतका केही वर्षदेखि मकै आयात बढ्दै गएको छ । नेपालको अधिकांश क्षेत्रमा उत्पादन हुने मकै अन्य देशहरुबाट अर्बौँको आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको हो ।
नेपालका ७० प्रतिशत मानिसको मुख्य पेसा कृषि हो । तर, वर्षेनी कृषि उत्पादनको आयात भने बढिरहेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ४ अर्ब ६६ करोड १६ लाख ६७ हजार रुपैयाँ बराबरको १० करोड २० लाख ५० हजार किलोग्राम मकै आयात भएको हो ।
गत आव २०८१/८२ को सोही अवधीमा ३ अर्ब ५२ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको ७ करोड १८ लाख ६० हजार किलोग्राम मकै आयात भएको थियो । सो परिमाणको मकै आयातबाट २६ करोड ३२ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो भने आव २०८०/८१ मा ३ अर्ब ३३ करोड ६८ लाख ९७ हजार रुपैयाँ बराबरको ८ करोड ३६ लाख ७२ हजार किलोग्राम मकै आयात हुँदा १५ करोड ७५ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
नेपालमा ३ अर्ब ८७ करोड ९ लाख ४४ हजार रुपैयाँको १० करोड ३ लाख किलोग्राम मकै आयात भएको विभागले जनाएको छ । उक्त परिणामको मकै आयातबाट २० करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, मकैको पिठो मात्र २ लाख ९१ हजार रुपैयाँको ४ हजार २०३ किलोग्राम र मकैको बिउ ७९ करोड ४ लाख ३२ हजार रुपैयाँको १६ लाख ६९ हजार आयात भएको हो । नेपालमा भारत, अर्जेन्टिना, टर्की, ब्राजिल, चीन लगायत दर्जनभन्दा बढी मुलुकबाट मकै आयात हुने गर्छ । सबैभन्दा धेरै आयात भारतबाट हुने गरेको छ ।
केही खानाकै लागि मकै आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ भने केही पशुपन्छीका लागि दाना, केही खाद्यान्न पिठो जस्ता मकैजन्य तयारी वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यति मात्रै होइन मकै बिउ समेत बाह्य देशहरुबाट नै आयात हुँदै आएको छ । नेपालमा मकै उत्पादनमा अग्रणी अन्न बालीका रूपमा चिनिन्छ । विशेषगरी पहाडी क्षेत्रमा यसको परम्परागत महत्व छ । मध्यपहाडी क्षेत्रमा कुनै समय मकै मुख्य खाना थियो ।
तर, सडक यातायातको पहुँचसँगै पहाडमा पनि भात खाने चलन बढेको छ, जसले मकै खपतमा कमी आएको छ । त्यस्तै, केही स्थानमा भातसँग मकैको च्याख्ला वा भात मिसाएर खाने चलन अझै छ ।
कोदोमा पनि परनिर्भता नै
पछिल्लो समय नेपालको उच्च र मध्यपहाडी क्षेत्रमा कोदो उत्पादन हुने कोदो पनि तेस्रो मुलुकसँग निर्भरता बढ्दै गएको छ । चालु आवको चार महिनामा ४९ लाख १४ हजार केजी कोदो आयात भएको छ । सो परिमाणमा कोदो आयात हुँदा २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ बाहिरीएको हो । सो परिमाणमा कोदो आयात हुँदा आयातकर्ताले १ करोड २३ लाख ५७ हजार रुपैयाँ राजस्व बुझाएको छ ।
गत आव २०८१/८२ को सोही समयमा ३५ करोड १४ लाख ३६ हजार रुपैयाँ बराबरको ६९ लाख ८६ हजार किलोग्राम कोदो आयात हुँदा २ करोड ६३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस्तै आव २०८०/८१ मा २७ करोड ४७ लाख ३४ हजार रुपैयाँको ५६ लाख १२ हजार किलोग्राम कोदो आयात हुँदा २ करोड ९ लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख्य छ । नेपालमा कोदो भारत र चीनबाट आयात हुने गर्छ ।
पछिल्लो समय कोदोबाट बिस्कुट, ढिँडो लगायतका परिकार बनाइने गरिन्छ । खपत बढ्दै गएपछि पसलहरुमा समेत कोदोको परिकार राखिन्छ । होटेल रेस्टुरेन्टमा कोदोका परिकार बनाएर बिक्रीका लागि राखिने जानकारहरु बताउँछन् ।
कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ । कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिनबी, टिप्टोफेन, फाइबरलगायतका पोषक तत्व पाइन्छ । पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउने बताइएको छ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पु¥याउने विज्ञहरुको भनाई छ ।












प्रतिक्रिया