बागमती प्रदेश सरकारद्वारा ५ महिनामा १६ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन


बागमती । चालु आर्थिक वर्षको ५ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३.८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड ७ लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकामा साउन देखि मङ्सिर सम्ममा लक्ष्यको २८.६३ प्रतिशतअर्थात् ८ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सन्यालले जानकारी दिए।

उनका अनुसार घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट ७ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ५ महिनामा १ अर्ब ६६ करोड ८५ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सवारीसाधन जाँचपास, रुट अनुमति, सवारीचालक अनुमतिपत्र वितरण तथ नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट ८ अर्ब २५ करोड सङ्कलन गर्ने अनुमान गरेकामा हालसम्ममा २ अर्ब ९५ करोड ८६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यसैगरी प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेकामा ३ अर्ब ६ करोड ८६ लाख ७१ हजार रुपैयाँ सङ्कलन गरेको छभने अन्तःशुल्क करबापत ४ अर्ब ३ करोड ७९ लाख ९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेकामा १ अर्ब ७ करोड २३ लाख ५९ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा ५ महिनामा ३८.३८ प्रतिशतअर्थात् ५ अर्ब ६८ करोड ७५ लाख ३० हजार रुपैयाँ प्राप्त भएको अधिकृत सन्यालले बताए।

चालु आवमा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा लक्ष्यको ३१.४४ प्रतिशतअर्थात् १ अर्ब ५० करोड २१ लाख ९७ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको कमी, गत भदौ २३ र २४ गते भएको जेननी प्रदर्शनका क्रममा प्रदेश सरकारको राजस्व सङ्कलन गर्ने विभिन्न निकायमा पुगेको क्षतिलगायतका कारणले अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।