काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र प्रयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एग्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको भनी पेस गरेको प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली पुष्टि भएको हो। सोही झुट्टा प्रमाणपत्रका आधारमा उनले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल इन नर्सिङ र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको साथै २०५२ सालमा प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति पाई हाल एसएसपी पदसम्म पदोन्नति भएको देखिएको छ।
नक्कली प्रमाणपत्रकै आधारमा राज्यबाट तलब, भत्ता र तालिम लगायतका सुविधाहरू लिएको भन्दै आयोगले उनीविरुद्ध कडा सजायको मागदाबीसहित आरोपपत्र दर्ता गरेको अख्तियार सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका हुन्।












प्रतिक्रिया