सोमालियामा खाद्य सङ्कट बढ्दै, लाखौं मानिसको जीवन सङ्कटमा


काठमाडौँ । सोमालियामा पानी र खाद्य अभावका कारण करिब चार लाख सत्तासी हजार मानिस प्रभावित भएका छन्, जुन देशको जनसङ्ख्याको करिब एक चौथाइको बराबर हो ।

संयुक्त राष्ट्रका साझेदारहरूले जनाएका अनुसार, सेप्टेम्बरदेखि डिसेम्बरसम्म कम्तीमा एक लाख बीस हजार मानिस विस्थापित भएका छन् । पानीको मूल्य अत्यधिक बढेको, खानेकुरा कम उपलब्ध भएको, पशुपन्छी मरेको र जीविकोपार्जन संकटमा परेको प्रवक्ता स्टेफाने दुजारिकले बताए।

शिक्षा क्षेत्रमा पनि गम्भीर असर परेको छ । देशभर ७५ हजारभन्दा बढी विद्यार्थी विद्यालय छोड्न बाध्य भएका छन् ।

प्रवक्ता दुजारिकले आगामी जनवरीदेखि मार्चसम्मको सुख्खा मौसमले स्थिति अझ गम्भीर बनाउने अनुमान गरिएको बताए। पानीको अभाव बढ्ने र पशुपन्छीको मृत्युदर उच्च हुने भएकाले खाद्य सुरक्षामा थप सङ्कट आउन सक्ने चेतावनी दिइएको छ ।

संयुक्त राष्ट्र र यसको मानवीय साझेदारहरू पानी, खाना, पोषण, स्वास्थ्य र आश्रय क्षेत्रमा आपतकालीन सहायता समन्वय गर्न सक्रिय छन् । दुजारिकका अनुसार, संयुक्त राष्ट्र आपतकालीन कोषले नोभेम्बरको अन्त्यमा दस लाख अमेरिकी डलर छुट्याएको छ, तर थप ठूलो सहयोग तत्काल आवश्यक छ ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।