रक्षा खर्च बढाउँदै जापान , आर्थिक वर्ष २०२६ मा ऐतिहासिक वृद्धि


जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्षा बजेट ९ खर्ब ४ अर्ब येन पुगेको छ, जुन करिब ५८ अर्ब अमेरिकी डलर बराबर हुन्छ ।

यो रकम चालु आर्थिक वर्ष सन् २०२५ का लागि तोकिएको ८ खर्ब ७० अर्ब येनको प्रारम्भिक रक्षा बजेटभन्दा बढी हो । प्रस्तावित बजेट सन् २०२३ देखि २०२७ सम्मको अवधिमा करिब ४३ खर्ब येन रक्षा क्षेत्रमा खर्च गर्ने जापानको दीर्घकालीन योजनाअनुसार तय गरिएको हो ।

बजेटअनुसार तटीय सुरक्षा मजबुत बनाउन ‘शिल्ड’ नामक तहबद्ध रक्षा प्रणाली निर्माणका लागि १०० अर्ब १० करोड येन विनियोजन गरिएको छ । यस प्रणालीका लागि हवाई, समुद्री सतह तथा पानीमुनि प्रयोग हुने विभिन्न प्रकारका सवारी साधन आवश्यक पर्ने जनाइएको छ । साथै, हवाई क्षेत्र उल्लङ्घनको निगरानी गर्न लामो समयसम्म उड्न सक्ने मानवरहित यान प्रयोगको सम्भावना अध्ययन गर्न १ अर्ब १० करोड येन छुट्याइएको छ ।

यसैबीच, गत अप्रिल १ गते स्वीकृत चालु आर्थिक वर्षको १८ खर्ब ३० अर्ब येनको पूरक बजेटमा सुरक्षा र कूटनीतिका लागि १ खर्ब ७० अर्ब येन समावेश गरिएको छ । यसले जापानलाई रक्षा सम्बन्धी खर्चलाई कुल राष्ट्रिय उत्पादनको दुई प्रतिशत पुर्‍याउने लक्ष्य आर्थिक वर्ष २०२५ भित्रै हासिल गर्न सहयोग पुग्ने बताइएको छ, जुन पहिले तय गरिएको समयभन्दा २ वर्ष अगावै हो ।

दशकौँसम्म जापानले रक्षा बजेटलाई कुल राष्ट्रिय उत्पादनको करिब एक प्रतिशत, अर्थात् झन्डै ५ खर्ब येनमा सीमित राख्दै आएको थियो ।

तर व्यापक जनविरोधका बाबजुद जापान सरकारले सन् २०२२ मा आर्थिक वर्ष २०२७ सम्म रक्षा सम्बन्धी खर्चलाई क्रमशः कुल राष्ट्रिय उत्पादनको २ प्रतिशतसम्म पुर्‍याउने लक्ष्य तय गरेको थियो ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।