काठमाडौँ महानगरको हालसम्मको खर्च १८.४९ प्रतिशत मात्र


काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ महानगरपालिकाको बजेट खर्च न्यून देखिएको छ । महानगरले चालू आवको साउनदेखि पुस ९ गतेसम्म १८.४८ प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।

काठमाडौँ महानगरपालिकाको नगर सभाको १८औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा संक्षिप्त कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।

जसमा आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ र बाँकी नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत प्राप्त हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र आय–व्ययको अवस्था अनुसार कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । समग्र खर्चको प्रतिशत हेर्दा चालु खर्च २८.४४ प्रतिशत र पुँजीगत खर्च १२.३९ प्रतिशत भएको छ ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । त्यसैगरि, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको देखिन्छ ।

विभाग अनुसार विनियोजित बजेटमा खचको विश्लेषण गर्दा प्रशासन विभागले कूल विनियोजित बजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । जसमा चालूतर्फ ४८.१८ प्रतिशत र पुँजीगत तर्फ १०.२३ प्रतिशत विनियोजित बजेटमा खर्च गरेको छ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।